इटहरी। दसैँ नजिकिँदै गर्दा अधिकांश नेपाली चाडपर्वको तयारीमा जुटिरहेका छन् । तर ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई भने यस वर्ष दसैँको खुसीले छुन सकेको छैन । आगलागीमा घर, पसल र वर्षौँको कमाइ गुमाएका उनीहरूलाई चाडपर्व मनाउनुभन्दा पनि सामान्य जीवनमा फर्किने चिन्ताले सताएको छ ।
ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गरेको दोभान बजारमा छ वर्ष नपुग्दै दुई पटक भीषण आगलागी भएको छ । दुवै घटनाबाट करिब ५६ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । विगतका वर्षमा यतिबेला दसैँतिहारको तयारीमा व्यस्त हुने स्थानीय यस वर्ष भने केही घण्टामै सम्पत्ति खरानी बनेपछि निराश छन् । अग्निपीडित सारा लिम्बूले यस वर्ष परिवारसँग खुसीसाथ दसैँतिहार मनाउने धोको भए पनि आगलागीले सबै सपना अधुरो बनाएको बताउनुभयो । उहाँका अनुसार अहिले छिमेकीको घरमा बसेर दिन बिताउनुपर्ने अवस्था छ ।
दसैँमा नयाँ कपडा किन्ने र मीठामसिना परिकार बनाउनेभन्दा पनि परिवारको आधारभूत आवश्यकता पूरा गर्ने चिन्ता अग्निपीडितमा छ । अग्निपीडित श्यामलाल खरेलले दसैँको मुखमा ठूलो विपत्ति आइपरे पनि परिवारका सदस्यसँग भेटघाट गरेर सकेसम्म रमाइलो गर्ने आँट नहारेको बताउनुभयो । आगलागीको असर व्यवसायीमा मात्र सीमित छैन । दोभानका सुनचाँदी पसलमा ग्राहकले धितो राखेका गरगहना पनि जलेर नष्ट भएका छन् । अग्निपीडित व्यवसायी अनुषा बराइलीले ग्राहकको धितो कसरी फिर्ता गर्ने भन्ने चिन्ता दसैँ मनाउनेभन्दा ठूलो बनेको बताउनुभयो । ग्राहकले फोन गरेर धितोबारे सोध्ने गरेको र आफूले फिर्ता गर्ने आश्वासन दिनुपरेको उहाँको भनाइ छ ।
गत असोज ८ गते भएको आगलागीमा दोभान बजारका १० घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने १६ परिवार प्रभावित भएका थिए । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । मेरिङदेन गाउँपालिका–३ खाम्लुङका वडाध्यक्ष जजिन्द्रकुमार नाल्बोले यसअघि आगलागी भएपछि गाउँपालिकाले बजार पुनर्निर्माणका लागि मापदण्ड तय गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो । पुराना संरचना जोडेर घर निर्माण गरिएकाले बजारमा आगलागीको जोखिम कायमै रहेको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
पुनःस्थापना, सुरक्षित आवास र भविष्यमा आगलागी रोक्ने प्रभावकारी योजना नबन्दा दोभानवासीका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र चिन्ताको समय बनेको छ ।


