इटहरी स् सुनसरीको कोशी गाउँपालिका–३ की शर्मिला सदा प्रकरणले स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने मातृ तथा शिशु सुरक्षा सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराएकी शर्मिलाले प्रसव पीडाका बेला भोग्नुपरेको अवस्थाले जोखिम पहिचान, उचित परामर्श र समयमै उपचारको पहुँचबारे बहस सिर्जना गरेको छ ।
सदाको घरबाट करिब पाँच सय मिटर दूरीमा स्वास्थ्य संस्था रहे पनि प्रसव पीडा भएपछि सुरक्षित सुत्केरी सेवाका लागि उनी जिल्ला अस्पताल इनरुवा पुगेकी थिइन् । त्यहाँ भर्ना नलिएपछि विराटनगरस्थित कोशी अस्पतालको प्रवेशद्वारमा पुग्दा उनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएको जनाइएको छ । सदा परिवारले उपलब्ध गराएको मातृ तथा नवजात शिशु सुरक्षा कार्डअनुसार उनले गर्भावस्थामा नियमित स्वास्थ्य परामर्श लिएकी थिइन् । पश्चिमकुशाहा स्वास्थ्य संस्थाका प्रमुख राजकुमार साहका अनुसार शर्मिला गर्भावस्थामा सात पटक स्वास्थ्य संस्थामा आएकी थिइन् । ती अवसरमा आवश्यक परामर्श दिएको उनको दाबी छ ।
तर, प्रसवका बेला शर्मिलाले भोग्नुपरेको अवस्थाले गर्भवतीको नियमित जाँच र परामर्शसँगै प्रसवपूर्व जोखिम पहिचान तथा जटिल अवस्थामा समयमै उपयुक्त स्वास्थ्य संस्थामा पठाउने व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । साहले घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम अघि बढाइएको बताएका छन् । उनले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।
शर्मिला प्रकरणको वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिन गरी स्वास्थ्य संस्थाको सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने माग उठेको छ । मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती र सुत्केरी महिलाले पाउनुपर्ने सेवा, स्वास्थ्यकर्मीको जिम्मेवारी र जटिल अवस्थामा उपचारका लागि गरिने प्रेषण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै आर्थिक रूपमा कमजोर महिलाले समेत समयमै सुरक्षित प्रसूति सेवा पाउने व्यवस्था गर्नुपर्ने आवश्यकता यस घटनाले औँल्याएको छ ।


