इटहरी स् उमेर ढल्किँदै जाँदा शरीर कमजोर बन्दै जान्छ ।

जीवनका अनेकौँ उतारचढाव पार गरेका हातखुट्टाले पहिलेझैँ साथ दिँदैनन् । त्यसमाथि आर्थिक अभाव, दीर्घरोग र सहारा दिने परिवारको अनुपस्थितिले एकल पुरुषको जीवन झन् कष्टकर बन्न पुग्छ । यस्तो अवस्थामा उनीहरूलाई आर्थिक सहयोग मात्र होइन, राज्य र समाज आफ्नो साथमा छन् भन्ने अनुभूति पनि उत्तिकै आवश्यक हुन्छ । यही समस्यालाई मध्यनर गर्दै तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुषलाई नगदसहित सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आर्थिक रूपमा विपन्न तथा सहाराविहीन ज्येष्ठ एकल पुरुषलाई लक्षित गरी गाउँपालिकाले मासिक एक हजार रुपैयाँका दरले वार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गर्नुका साथै प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिकाका छ वटै वडाबाट तथ्याङ्क सङ्कलन गरी पालिकाभित्रका ५९ जना ज्येष्ठ एकल पुरुषलाई सम्मान गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले बताए । नेपालमा प्रचलित सामाजिक सुरक्षा भत्ताको व्यवस्थाअनुसार सामान्यतया ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्न महिला र पुरुष दुवै ७०  वर्ष पुगेको हुनुपर्छ ।

तर आर्थिक रूपमा विपन्न, सहाराविहीन वा दीर्घरोगबाट पीडित एकल पुरुषको जीवनयापन पनि सहज हुँदैन । सामाजिक सुरक्षाका विद्यमान व्यवस्थाले सम्बोधन गर्न नसकेका यस्ता आवश्यकतालाई स्थानीय सरकारले आफ्ना कार्यक्रममार्फत सम्बोधन गर्न सक्छन् ।छथर गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ एकल पुरुष सम्मान कार्यक्रम त्यसैको एउटा उदाहरण बनेको छ । आर्थिक अभावसँग जुधिरहेका ज्येष्ठ एकल पुरुषका लागि सानो सहयोग पनि महत्वपूर्ण बन्न सक्छ । दैनिक उपभोग्य वस्तुको जोहो गर्नेदेखि सामान्य स्वास्थ्य उपचारसम्मका आवश्यकतामा आर्थिक स्रोतको अभावले उनीहरूलाई समस्यामा पारिरहेको हुन्छ ।

त्यसमाथि दीर्घरोगबाट पीडित हुनु र हेरचाह गर्ने व्यक्तिको अभाव हुनु उनीहरूका थप चुनौती हुन् । यस्तो अवस्थामा वार्षिक १२ हजार रुपैयाँको सहयोगले सबै समस्या समाधान नगरे पनि आधारभूत आवश्यकता व्यवस्थापनमा केही राहत पु‍र्याउन सक्छ । छथर गाउँपालिका–३ का कृष्णबहादुर तामाङका अनुसार, स्थानीय सरकारले एकल पुरुषलाई समेत लक्षित गरी नगदसहित सम्मान गर्नु उदाहरणीय काम हो । राज्यबाट पर्याप्त सामाजिक सुरक्षा प्राप्त गर्न नसकिरहेका एकल पुरुषलाई स्थानीय सरकारले सम्बोधन गर्नु सकारात्मक पहल भएको उनको भनाइ छ । त्यस्तै, छथर गाउँपालिका–२ का ज्येष्ठ एकल नागरिक गोबर्धन लिम्बुका लागि पनि स्थानीय सरकारको यो पहल महत्त्वपूर्ण छ । उमेर ढल्किँदै जाँदा दैनिक जीवनयापन र स्वास्थ्य उपचारमा विभिन्न समस्या भोग्नुपर्ने अवस्थामा स्थानीय सरकारले सम्झिएर सहयोग गर्नु सकारात्मक भएको उनको भनाइ छ ।

आर्थिक सहयोगसँगै सम्मान पाउँदा आफूहरूलाई समाजमा एक्लो नभएको अनुभूति हुने र स्थानीय सरकार आफ्नो साथमा रहेको महशुस उनी बताउँछन् । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले कतिपय एकल पुरुष एक्लै र संरक्षणविहीन अवस्थामा जीवन बिताउन बाध्य रहेकाले उनीहरूलाई स्थानीय सरकार नागरिकको साथमा छ भन्ने अनुभूति दिलाउन विगतका वर्षदेखि नै यो कार्यक्रम सञ्चालन गर्दै आएको बताए । स्थानीय सरकारले नागरिकका समस्या नजिकबाट बुझ्न र उनीहरूको आवश्यकताअनुसार सहयोग गर्न सक्ने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढ्ने उनको भनाइ छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिकको हेरचाह र सम्मानलाई आर्थिक सहयोगमा मात्र सीमित राखेको छैन । विगतका वर्षदेखि ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्नुका साथै उपहारस्वरूप लौरो उपलब्ध गराउँदै आएको छ । उमेर बढ्दै जाँदा हिँडडुल गर्न कठिनाइ हुने र नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने ज्येष्ठ नागरिकका लागि घरदैलोमै पुगेर सेवा प्रदान गर्ने कार्यक्रम उपयोगी बनेको छ । त्यस्तै, विभिन्न दीर्घरोगबाट पीडित नागरिकलाई उपचारका लागि ५ हजारदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोगसमेत गर्दै आएको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित यस्तो सहयोगले स्वास्थ्य उपचारमा केही राहत पु‍र्याउने अपेक्षा गरिएको छ ।