इटहरी। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढेका छन् । पर्यटकीय मौसम सुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकहरु बढेका हुन् ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको उपस्थिति बढेसँगै आधार शिविरहरु खचाखच भएका छन् । कञ्चनजङ्घाको उत्तरी आधार शिविर खम्बाचेन, लोनक, पाङपेमा तथा दक्षिणी आधार शिविर चेइराम, ओक्ताङ र रामजेरमा अहिले पर्यटकको चहलपहल बढेको छ । खासगरी उत्तरतर्फका आधार शिविरहरु हिजोआजा खचाखच रहेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको बाक्लो उपस्थितिले आधार शिविरहरु खचाखच रहेको स्थानीय पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाले जानकारी दिनुभयो ।

लोनाकमा होटल व्यवसायसमेत सञ्चालन गर्दै आउनुभएका व्यवसायी शेर्पाका अनुसार असोजको अन्तिम सातादेखि पर्यटकको उपस्थिति बाक्लिएको छ । पर्यटकको चापका कारण खम्बाचेन, लोनाक र पाङ्पेमा आधार शिविरमा सञ्चालित होटलहरुको लज ९बास० क्षमताले धान्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । लज क्षमताले नधानेपछि होटलहरुमा बस्न चाहने पर्यटकलाई केही असहज भएको बताइएको छ ।

यद्यपि, विदेशी पर्यटकले आफैं टेन्ट, स्लिपिङ ब्यागसहित बन्दोबस्तीका सामग्री साथमै बोक्ने हुँदा ठुलै समस्या भने नहुने पर्यटन व्यवसायी बताउँछन् । पर्यटकका कारण कञ्चनजङ्घाका मुख्य आधार शिविर क्षेत्र मात्र नभई पदमार्ग क्षेत्रमा रहेको फले घुन्सा लगायतका बस्तीमा पनि चहलपहल निकै बढेको स्थानीयले बताएका छन् ।

असोजको तेस्रो सातापछि मौसम राम्ररी खुलेकाले पर्यटकको उपस्थिति बढेको स्थानीयको भनाइ छ । पर्यटकका कारण होटल व्यवसायीको आम्दानी पनि राम्रै भइरहेको व्यवसायी बताउँछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार भदौ महिनामा फाट्टफुट्ट मात्र पर्यटक आएका थिए । असोजको तेस्रो सातापछि भने कञ्चनजङ्घामा पर्यटक उपस्थिति बाक्लिएको परिषद्ले जनाएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अर्थात कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार मङ्गलबार सम्ममा ६२३ जना बाह्य पर्यटक आएका छन् । परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार अमेरिका, रसिया, बेलायत, जर्मन, चीनलगायत देशका विदेशी पर्यटक कञ्चनजङ्घाको भ्रमणमा आएका छन् । त्यस्तै सार्क राष्ट्रका र केही आन्तरिक अर्थात नेपाली पर्यटकसमेत कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटन सहायक शेर्पाले जानकारी दिनुभयो ।

यस्तै परिषद्को याम्फुदिन चेकपोष्टका पर्यटन सहायक सूर्यमान राईका अनुसार कञ्चनजङ्घाको दक्षिणी आधार शिविरतर्फ मङ्गलबार सम्ममा ६९ जना विदेशी र ८३ जना स्वदेशी पर्यटक भ्रमणमा आएका छन् । विषेशगरी वर्षमा दुई मौसम ९सिजन० कञ्चनजङ्घाको भ्रमण तथा आरोहणका लागि पर्यटक आउने गरेका छन् । पहिलो मौसम असोज र कात्तिक महिना तथा दोस्रो चैत, बैशाख र जेठ महिनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।