इटहरी। भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आव २०८२।८३ को साउनदेखि असोज मसान्तको तुलना यस आर्थिक वर्षको तीन महिनामा दोब्बर बढी राजश्व सङ्कलन गरेको हो । भूमि प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी निर्मल शेर्पाका अनुसार कार्यालयले चालु आवको पछिल्लो तीन महिनामा एक करोड ११ लाख ३७ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले तत्कालीन मालपोत कार्यालय हुँदा गत आर्थिक वर्षको यही अवधिमा ५५ लाख ५४ हजार ३१२ रुपियाँ मात्र राजश्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको तुलनामा ५५ लाख ८३ हजार १२२ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । जलविद्युत आयोजनाहरूको दृष्टि बन्धक, लिखत पारित वृद्धि भएकाले राजश्व समेत बढी सङ्कलन भएको सूचना अधिकारी शेर्पाको भनाइ छ ।
चालु आर्थिक वर्षको साउनमा २३ लाख चार हजार ३३२ रुपियाँ, भदौमा २८ लाख ९४ हजार २४७ र असोजमा ५९ लाख ३८ हजार ८५५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार चालु आवको तीन महिनामा रजिष्ट्रेशन दस्तुरमार्फत ७० लाख ४२ हजार ६४ रुपियाँ, न्यायिक सेवामार्फत २ लाख १६ हजार ९५४, मोठ–रोक्काबाट ३६ हजार ६ सय र प्रतिलिपि प्रदानबाट १८ हजार ४ सय रुपियाँ राजश्व सङ्कलन भएको छ ।
कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष राजश्व सङ्कलन वृद्धि भइरहेको छ । आर्थिक वर्षमा ०८०।८१ मा दुई करोड ७९ लाख आठ हजार ३७१ रुपियाँ, ०८१।८२ मा तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ र गत आर्थिक वर्ष ०८२।८३ मा चार करोड १९ लाख ६० हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवको तीन महिनामै एक करोड रुपियाँभन्दा बढी राजश्व सङ्कलन भएकाले यस आर्थिक वर्षमा गत आवको तुलनामा बढी राजश्व उठ्ने अनुमान गरिएको छ ।


