इटहरी। नेपाल जेसीजको १५औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी इटहरीमा आयोजना हुने भएको छ। इटहरी लेडी जुनियर जेसीजको आतिथ्यतामा आगामी कात्तिक १४ र १५ गते एकेडेमी सञ्चालन हुन लागेको हो।
इटहरी लेडी जुनियर जेसीजका अनुसार एकेडेमीमा नेपालभरका ३५ वटा जुनियर जेसीज शाखाका करिब २०० जना युवाको सहभागिता रहनेछ। १२ देखि २२ वर्ष उमेर समूहका युवालाई लक्षित गरी आयोजना हुने कार्यक्रममा व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धिका विभिन्न गतिविधि सञ्चालन गरिनेछ।
एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता, नेतृत्व विकाससम्बन्धी तालिम, अनुभव आदानप्रदान, समूहगत छलफल तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ। युवाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
इटहरी लेडी जुनियर जेसीजकी अध्यक्ष जुनियर जेसी दिव्या दाहालको अध्यक्षतामा हुने एकेडेमीको सम्मेलन निर्देशकमा संस्थापक अध्यक्ष जुनियर जेसी अभिज्ञा पौडेल रहनुभएको छ।
एकेडेमीमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष, जुनियर जेसीजका राष्ट्रिय संयोजक, राष्ट्रिय पदाधिकारी तथा विभिन्न शाखाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ। कार्यक्रम इटहरीस्थित सत्सङ्ग प्यालेसमा सञ्चालन हुनेछ।


