इटहरी स् विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या झापामा बढ्दै गएको छ। पछिल्लो साढे चार वर्षमा जिल्लाका २४६ जनाले नेपाली नागरिकता त्यागेका छन्।
जिल्ला प्रशासन कार्यालय झापाको अभिलेखअनुसार २०७८ सालदेखि २०८३ कात्तिक १२ गतेसम्म नागरिकता परित्याग गर्नेमा १६२ पुरुष र ८४ महिला छन्। विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्नेहरूको विवरण प्रशासनले राख्ने गरेको छ। कार्यालयको तथ्याङ्कअनुसार २०७८ सालमा तीन पुरुष र तीन महिलाले नागरिकता त्यागेका थिए। २०७९ सालमा आठ पुरुष र तीन महिलाले नागरिकता परित्याग गरे। २०८० सालमा भने यो संख्या उल्लेख्य रूपमा बढ्यो। उक्त वर्ष ५९ पुरुष र २० महिलाले नेपाली नागरिकता त्यागेका थिए।
त्यसैगरी, २०८१ सालमा ५३ पुरुष र १८ महिलाले नागरिकता परित्याग गरेको अभिलेख छ। २०८२ सालमा भने पुरुषको तुलनामा नेपाली नागरिकता त्याग्ने महिलाको संख्या बढी देखिएको छ। उक्त वर्ष २५ पुरुष र ४५ महिलाले नागरिकता परित्याग गरेका थिए। चालु आर्थिक वर्ष २०८३ को कात्तिक १२ गतेसम्म १९ पुरुष र २० महिलाले नागरिकता त्यागिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वर्षगत तथ्याङ्क हेर्दा २०८० र २०८१ मा नागरिकता परित्याग गर्ने पुरुषको संख्या बढी छ। तर, २०८२ मा महिलाको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। चालु आर्थिक वर्षको सुरुआती अवधिमा भने नागरिकता परित्याग गर्ने पुरुष र महिलाको संख्या लगभग बराबर छ।
विदेशमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्ने गरेका छन्। नेपालको संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकता प्राप्त गरेका व्यक्तिले सामान्यतः नेपाली नागरिकता कायम राख्न पाउँदैनन्। यद्यपि, नेपाली मूलका विदेशी नागरिकले कानुनले तोकेको योग्यता पूरा गरेमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छुट्टै व्यवस्था छ। यस्तो नागरिकताले नेपाली नागरिकतासरह सबै राजनीतिक तथा नागरिक अधिकार भने प्रदान गर्दैन। जिल्ला प्रशासन कार्यालयको उपलब्ध तथ्याङ्कले नागरिकता परित्याग गर्नेको संख्या र लैङ्गिक अवस्था देखाए पनि उनीहरूले कुन–कुन विदेशी मुलुकको नागरिकता प्राप्त गरेका हुन् भन्ने विवरण भने खुलाएको छैन।


