इटहरी स् सडक निर्माणका क्रममा बाटो नै ढाक्ने गरी निर्माण सामग्री राखिएका कारण मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा गौरीगञ्जका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
गौरीगञ्ज गाउँपालिका–१ निवासी ५१ वर्षीय रमेश राजवंशीको उपचारका क्रममा शनिबार बिहान विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। राजवंशी गत असोज २५ गते साँझ झापा गाउँपालिका–३ स्थित कामाटोली बजारनजिक मोटरसाइकल दुर्घटनामा परेका थिए। कुमरखोद बजारबाट उत्तरतर्फ सुरुङ्गा आउँदै गरेका उनी सवार मे १० प ७७९ नम्बरको मोटरसाइकल साँझ साढे ६ बजेतिर दुर्घटनामा परेको थियो।
सुरुङ्गा–कुमरखोद सडकखण्डमा नाला निर्माणका लागि निर्माण व्यवसायी शेरबहादुर थापाको कम्पनीले सडक ढाक्ने गरी निर्माण सामग्री थुपारेका कारण दुर्घटना भएको आरोप छ। निर्माण सामग्रीका कारण साँघुरिएको सडकमा रहेको बालुवामा मोटरसाइकल चिप्लिँदा राजवंशीको खुट्टा भाँचिएको थियो। दुर्घटनापछि परिवारले सडकमा लापरबाहीपूर्वक निर्माण सामग्री राख्ने निर्माण कम्पनीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कुमरखोदमा लिखित उजुरीसमेत दिएका थिए।
मृतक राजवंशी स्वास्थ्यकर्मी हुन्। दुर्घटनापछि निर्माण व्यवसायी थापाले घटनाबारे आफूहरूसँग कुनै समन्वय नगरेको पीडित परिवारको गुनासो छ। सडक निर्माणका क्रममा आवश्यक सुरक्षा सावधानी नअपनाउँदा भएको दुर्घटनाले एक जनाको ज्यान गएको भन्दै परिवारले निर्माण व्यवसायीको जिम्मेवारीमाथि प्रश्न उठाएको छ।


