इटहरी। इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहता पछिल्लो तीन दशकदेखि आधुनिक र व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ । पुर्ख्यौली खेतीपातीलाई नै आफ्नो पेसा बनाउँदै आउनुभएका उहाँले परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक कृषि प्रविधि अपनाउँदै सफल व्यावसायिक किसानका रूपमा परिचय स्थापित गर्नुभएको छ ।
उहाँले आफ्नै तीन बिघा र १० बिघा जग्गा भाडामा लिएर तरकारी तथा खाद्यान्नको खेती गर्दै आउनुभएको छ । उहाँको खेतमा टमाटर, बोडी, काउली, बन्दाकोबी, लौका, सागलगायत विभिन्न मौसमी तरकारीका साथै धान, मकै र गहुँ उत्पादन हुँदै आएको छ । तरकारी बिक्रीबाट मात्रै वार्षिक करिब २० लाख रुपियाँ आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । धान, मकै तथा अन्य कृषि उपजको आम्दानीबाट सबै खर्च कटाएर वार्षिक करिब ३० लाख रुपियाँ बचत हुने गरेको उहाँको भनाइ छ । उहाँले नियमित तलब दिएर पाँच जना कर्मचारी राख्नुभएको छ । खेतीको काम र मौसमअनुसार वर्षभरि दैनिक १२ देखि २० जनासम्म ज्यालादारी कामदारले रोजगारी पाउने गरेका छन् । परिवारका दाजुभाइ र छोराहरूसँग मिलेर खेती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
असोज–कात्तिकमा धान भित्र्याएपछि सोही खेतमा तरकारी लगाउने गर्नु भएको छ । उहाँको खेतबारीमा वर्षभरि मौसमअनुसार विभिन्न तरकारी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी इनरुवा कृषि बजार तथा स्थानीय बजारमा बिक्री हुने गरेको छ । यस्तै, स्थानीय व्यापारी खेतमै आएर लैजाने गरेको मेहताले बताउनुभयो । कृषि कार्यलाई सहज बनाउन उहाँले दुईवटा कम्बाइन, तीन वटा थ्रेसर र चारवटा ट्याक्टर खरिद गर्नुभएको छ । आफ्नै कृषि यन्त्र हुँदा खेती गर्न सहज हुनाका साथै अन्य किसानलाई भाडामा दिएर थप आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
एक बिघा खेतको धान मानिस लगाएर काट्दा धेरै समय लाग्नाका साथै ३० हजार रुपियाँसम्म खर्च हुने उहाँको भनाइ छ । कम्बाइन हार्भेस्टरबाट धान तथा गहुँ काट्दा डेढ घण्टामै एक बिघा खेतको बाली भित्र्याउन सकिने उहाँले बताउनुभयो । कृषि पेसामा मेहनत गर्न सके नेपालमै राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । तर सिँचाइको पर्याप्त सुविधा नहुँदा आफैँले बोरिङ गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । सरकारले सिँचाइका लागि बोरिङ, पाइप र मोटर खरिदमा अनुदान दिनुपर्ने उहाँको भनाइ छ । अनुदानको रकम किसानकै खातामा प्रत्यक्ष पठाउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
किसानले लिजमा जग्गा लिएर खेती गर्दा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन नसक्ने भएकाले विद्युत् मिटर जडानमा समस्या हुने गरेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा स्थानीयस्तरमा सर्जमिन गरी खेती भइरहेको जग्गाको विवरणका आधारमा विद्युत् मिटर र सिँचाइ सुविधा उपलब्ध गराउन सके व्यावसायिक खेती गर्ने किसानलाई राहत पुग्ने उहाँको भनाइ छ । कृषि उत्पादनको लागत घटाउन सरकारले डिजेलमा कम्तीमा ५० प्रतिशत सहुलियत दिनुपर्ने उहाँको भनाइ छ । कृषि उत्पादनका लागि आवश्यक मल समयमै उपलब्ध नहुनु अर्को प्रमुख समस्या रहेको उहाँको अनुभव छ । किसानसँग पैसा हुँदा पनि मल किन्न नपाउने अवस्थाको अन्त्य गर्न सरकारले सहकारी तथा कृषि सामग्री वितरण गर्ने निकायमार्फत पर्याप्त मलको मौज्दात राख्नुपर्ने उहाँको भनाइ छ ।
नेपालमा गुणस्तरीय बीउको अभाव रहेकाले खेती गर्न छिमेकी मुलुकबाट उन्नत जातका बीउ ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कृषिमा नयाँ प्रविधि र उत्पादनका विधि भित्रिरहेका कारण नयाँ तथा पुराना दुवै किसानलाई नियमित तालिम आवश्यक रहेको उहाँको भनाइ छ । नयाँ जातका बीउ र आधुनिक खेती प्रविधिबारे जानकारी उपलब्ध गराउन सके उत्पादन तथा आम्दानी बढाउन सकिने उहाँले बताउनुभयो । कृषि उत्पादनको बजारीकरण अर्को चुनौती रहेको मेहताको भनाइ छ । किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्न सहज रूपमा बजारसम्म पु¥याउन कृषि उत्पादन हुने क्षेत्रलाई जोड्ने सडक तथा यातायात सुविधा विस्तार गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
छिमेकी मुलुकबाट आउने तरकारीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन रहेको उहाँको अनुभव छ । नेपाली किसानको उत्पादन लागत बढी हुने भएकाले स्वदेशी उत्पादनलाई संरक्षण गर्न सरकारले आयात व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । आयातित तथा स्वदेशी दुवै तरकारीमा विषादी परीक्षण अनिवार्य गर्नुपर्ने उहाँको माग छ । सीमाबाट भित्रिने तरकारीदेखि स्थानीय कृषि बजारसम्म विषादी परीक्षण गर्ने उपकरण र प्रयोगशालाको व्यवस्था गर्न सके उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वदेशी उत्पादनको गुणस्तर कायम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।


