इटहरी। इटहरीको रंगशालामा गीत गुञ्जिरहेका थिए, युवायुवती झुमिरहेका थिए । कोही सिटी बजाउँदै थिए त कोही हात उठाएर नेपथ्यका लोकप्रिय गायक अमृत गुरुङलाई साथ दिइरहेका थिए । बुधबार साँझ इटहरी रंगशालाको माहोल यस्तै उत्साहपूर्ण थियो । गीत, संगीत र दर्शकको हुटिङले रंगशाला संगीतमय बनेको थियो ।

साँझ ६ बजेपछि मञ्चमा उक्लिनुभएका नेपथ्यका लोकप्रिय गायक अमृत गुरुङले तिहारको तयारी बेला अनि धान काट्ने बेला, नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश भन्दै दर्शकलाई अभिवादन गर्नुभयो । तराईको अन्नभण्डार र सुन फल्ने भूमिमा रहेका दर्शकलाई आत्मीय सम्बोधन गर्दै उहाँले सबैका मनमा नमस्कार टक्र्याउनुभयो । गुरुङ मञ्चमा उक्लिएसँगै इटहरी रंगशालाको माहोल तातिएको थियो । उहाँको अभिवादनसँगै ताली र हुटिङ गुञ्जियो  । त्यसपछि गुरुङले गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, सुन सुन साइँली, कर्णाली, भेडाको उन, रेशम, पोखरा बजार, मुक्लुङ जाउँला र रुकुम लगायत लोकप्रिय गीत प्रस्तुत गर्नुभयो ।

उहाँको सांगीतिक धुन र गायनसँगै दर्शक नाच्दै, उफ्रिँदै र सिटी बजाउँदै झुमेका थिए । तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतप्रेमीको माया र साथ पाउँदै आएको नेपथ्यले पहिलोपटक इटहरीमा सांगीतिक प्रस्तुति दिएको हो  । गायनका क्रममा गुरुङले मनोरञ्जनसँगै सामाजिक सद्भाव, राष्ट्रिय एकता र मानवीय सेवाको सन्देश पनि दिनुभयो । उहाँले ‘हामी गाइरहेका छौँ, रमाइलो गरिरहेका छौँ, नाचिरहेका छौँ, झुमिरहेका छौँ । हाम्रो देश नेपाल पनि यस्तै देश हो । हामी आज पनि मिलेर बसेका छौँ र भोलि पनि मिलेर बस्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ठुलो–सानो जाति र साना–ठुला धर्मका नाममा विभाजित नभई नेपालमा नेपाली भएर बाँच्नुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ भन्ने भावना राख्नुपर्छ ।’

उहाँको यो अभिव्यक्तिले सांगीतिक माहोलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश थपेको थियो । दर्शकसँग आत्मीय संवाद गर्दै उहाँले कलेज पढ्दाको उमेर सम्झन आग्रह गर्नुभयो । ‘सबैले आफू कलेज पढ्दाको उमेर सम्झौँ त । म पनि कलेज पढ्दा कपाल कालो, दाह्री पनि कालै थियो । जवानी थियो,’ उहाँले भन्नुभयो । उहाँको भनाइले दर्शकलाई हँसाउनुका साथै पुराना दिनको सम्झना गराएको थियो । गीत र संगीतबिच गुरुङले धनसम्पत्ति कमाएर मात्रै पुण्य प्राप्त नहुने उल्लेख गर्दै उहाँले आफूले सकेको दान र सहयोग गर्न आग्रह गर्नुभयो । समाजमा खान नपाएका, असहाय, अशक्त तथा दुःखमा रहेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएको उहाँको भनाइ थियो ।

कर्मचारी तथा राष्ट्रसेवकलाई समेत आफ्नो आम्दानीको केही अंश सामाजिक सेवामा छुट्याउन स्टेज बाटै उहाँले आग्रह गर्नुभयो । देश निर्माण कर्मचारी, राजनीतिक दलका नेता, समाजका अगुवा र नागरिक सबैको साझा जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो । युवापुस्तालाई सम्बोधन गर्दै गुरुङले नेपाली युवालाई विदेश जानुपर्ने बाध्यता अन्त्य गरी नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । ‘होनहार युवा पुस्ताका लागि सबै मिलेर राम्रो काम गरौँ है । युवापुस्तालाई विदेश जाने होइन, अरू देशका युवालाई नेपाल भित्र्याउने वातावरण सिर्जना गरौँ है,’ उहाँले भन्नुभयो । गुरुङले सगरमाथा, लुम्बिनीसहित हिमाल, पहाड र तराईको विविधताले भरिएको आफ्नै देशका प्राकृतिक तथा सांस्कृतिक सम्पदा घुम्न र चिनाउन पनि आग्रह गर्नुभयो । नेपथ्य लाइभ इन कन्सर्ट इटहरी पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा भएको थियो । आयोजक संस्थाका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले सांगीतिक कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय आर्थिक गतिविधिमा सहयोग पु‍र्याएको बताउनु भयो ।