इटहरी। करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पछिल्लो नौ महिनादेखि हवाई सेवा ठप्प छ । परीक्षण उडानका बेला हजारौँ मानिसको भिड लागेको विमानस्थल अहिले सुनसान बनेको छ ।
इलामवासी हवाई यात्राका लागि अझै झापाको भद्रपुर वा विराटनगर विमानस्थल पुग्न बाध्य छन् । विमानस्थल निर्माण प्रक्रिया २०५८ सालमा सुरु भएको थियो । २०६७ सालमा शिलान्यास भए पनि बजेट अभावका कारण निर्माणले गति लिन सकेन । २०७८ सालमा धावनमार्ग निर्माण पूरा भएको थियो । ३२८ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा ६७० मिटर लामो र २० मिटर चौडा धावनमार्ग कालोपत्र गरिएको छ ।
विमानस्थल निर्माणका लागि स्थानीयवासीले समेत जग्गा र आर्थिक सहयोग गरेका थिए । कसैले एक रोपनी त कसैले ४२ रोपनीसम्म पुर्ख्यौली जग्गा उपलब्ध गराएका थिए । हालसम्म विमानस्थल निर्माणमा २८ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । ३१ घरपरिवारलाई जग्गाको मुआब्जाबापत दुई करोड २६ लाख रुपियाँ वितरण गरिएको थियो । २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले कच्ची धावनमार्गमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०७८ माघ २६ गते नेपाल वायुसेवा निगमको जहाजले पनि परीक्षण उडान गरेको थियो । परीक्षण उडानपछि नियमित सेवा सञ्चालन हुने अपेक्षा गरिए पनि केही समय सञ्चालन भएको काठमाडौं–इलाम उडान अहिले बन्द छ ।
झापाको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार गत वर्ष माघ १७ गते अन्तिम उडान भएयता इलाममा जहाज आएको छैन । ‘सुरुमा सातामा एकदेखि दुईपटकसम्म काठमाडौं–इलाम उडान हुने गरेको थियो । नेपाल एयरलाइन्सले मात्रै उडान गरेको थियो । अहिले नौ महिनादेखि सेवा बन्द छ,’ खत्रीले भन्नुभयो । उहाँका अनुसार नियमित उडान हुँदा यात्रुको सङ्ख्या पर्याप्त हुने गरेको थियो । तर, अनियमित उडानका कारण यात्रु पाउन कठिन हुने गरेको छ ।
विमानस्थलको धावनमार्ग कालोपत्र भए पनि स्थायी टर्मिनल भवन, पक्की सडक र यात्रु सुविधाका संरचना निर्माण हुन बाँकी छन् । विमानस्थलको रेखदेखका लागि एक जना चौकीदार मात्रै राखिएको छ भने उडान हुने दिन झापाबाट कर्मचारी आउने गरेका छन् । खत्रीका अनुसार चन्द्रगढी विमानस्थलबाट दैनिक ११ वटा उडान हुने गरेका छन् । ती उडानका यात्रुमध्ये १५ देखि २० प्रतिशत इलाम, पाँचथर र ताप्लेजुङका हुने गरेका छन् । इलाम विमानस्थल सञ्चालनमा आए पूर्वी पहाडी जिल्लाका यात्रुलाई समेत सहज हुनेछ । ‘इलामको विमानस्थल पनि हामी झापाबाटै हेर्छौँ । इलामका लागि भनेर छुट्टै जनशक्ति तत्काल छैन । उडान हुने दिन झापाबाटै जान्छौँ । इलाममा विमानस्थलको रेखदेखका लागि एक जना चौकीदार मात्रै राखेका छौँ,’ खत्रीले भन्नुभयो ।
उडानको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०।८१ मा इलाम–काठमाडौं आवतजावत गरी ९० उडान भएका थिए । आर्थिक वर्ष २०८१।८२ मा ६६ र २०८२।८३ मा जम्मा १२ उडान भएका थिए । इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहान विमानस्थल नियमित सञ्चालन हुनुपर्ने बताउनुहुन्छ । नगरपालिकाले पटकपटक पहल गरे पनि एक्लैको प्रयासले सम्भव नभएको उहाँको भनाइ छ । ‘कहिले जहाज बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै नियमित उडान हुन सकेको छैन । अहिले त झन् महिनौँ भयो, जहाज नै नआएको,’ चौहानले भन्नुभयो । स्थानीय तहले विमानस्थल सञ्चालनका लागि पहल गर्दै आए पनि नियमित उडान सुनिश्चित गर्न सङ्घीय सरकार, नेपाल वायुसेवा निगम र सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।


