इटहरी स् सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख ९२ हजार पाँच सय रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा सन्जुहाङ लिम्बूको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गए राति छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा धरान–१६ का ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय घरधनी सन्जुहाङ लिम्बू, २४ वर्षीय मचिन लिम्बू, ३२ वर्षीय पूर्ण राई र ४१ वर्षीय सन्तोष तामाङ रहेका छन् ।

त्यस्तै, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा पनि पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट पाँच लाख ९२ हजार पाँच सय रुपैयाँ नगद, १२ बुक तास र विभिन्न कम्पनीका १२ थान मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।