इटहरी स् मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । घरबाट करिब एक किलोमिटर दूरीमा रहेको जंगलमा बिहीबार साँझ स्थानीयले अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत फेला पर्नेमा स्थानीय ३१–३२ वर्षीया पार्वती लिम्बू रहेको प्रहरीले जनाएको छ । उनको शव कम्मरमुनिको भागमा कपडा नभएको अवस्थामा भेटिएको हो । शरीरमा बाहिरी चोटपटक नदेखिएको र घटनास्थलमा तत्काल शंकास्पद वस्तुसमेत फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद र झैझगडा हुने गरेको थियो । स्थानीयले प्रहरीलाई यस्तो जानकारी दिए पनि पारिवारिक विवाद नै मृत्युको कारण हो वा होइन भन्ने खुलेको छैन । प्रहरीले यस पक्षलाई समेत अनुसन्धानको दायरामा राखेको छ ।
घटनाको प्रकृति र मृत्युको कारण पत्ता लगाउन फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पठाइएको एसपी कटवालले बताए । प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ । शव परीक्षण, फरेन्सिक जाँचको नतिजा र अनुसन्धानपछि मात्रै महिलाको मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको प्रकृति र शवको अवस्था हेर्दा महिलाको मृत्यु रहस्यमय देखिएको छ ।


