इटहरी। शरीरलाई भुइँमा सुताउँदै, उठ्दै र फेरि दण्डवत् गर्दै करिब पाँच किलोमिटरको कठिन दूरी पार गर्नु सामान्य धार्मिक अनुष्ठान होइन । तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यही कठिन साधनालाई २९ वर्षदेखि निरन्तरता दिँदै आएका छन् ।
छठ पर्वको अवसर पारेर पराजुलीले आइतबार बिहान विराटनगर–३ स्थित ठूलोमिल चोकको राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट आफ्नो २९औँ दण्ड प्रणाम यात्रा सुरु गरेका हुन् । उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाट पुगेर सम्पन्न हुनेछ । छठी माताप्रतिको आस्थालाई कर्म र संकल्पसँग जोड्दै आएका पराजुलीले यस वर्षको यात्रालाई पनि व्यक्तिगत इच्छापूर्तिमा सीमित राखेका छैनन् । नेपालमा समृद्धि, विश्वमा शान्ति र मानव कल्याणको कामनासहित आफूले हरेक वर्ष यो कठिन धार्मिक यात्रा गर्दै आएको उनको भनाइ छ ।
दुई दिनसम्म पानीसमेत नपिई छठ व्रत बस्ने पराजुली दण्ड प्रणाम यात्रालाई आफ्नो जीवनको निरन्तर धार्मिक प्रतिबद्धताका रूपमा व्याख्या गर्छन् । २९ वर्षसम्म आइपुग्दा पनि आफ्नो आस्था र संकल्पमा कुनै कमी नआएको उनी बताउँछन् । पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउने अभियानलाई आफ्नो प्रमुख उद्देश्यका रूपमा अघि सारेका छन् । विश्वका विभिन्न मुलुकमा बढ्दै गएको द्वन्द्व, वैमनस्यता र अशान्ति अन्त्य होस् भन्ने कामनासमेत आफ्नो यात्रासँग जोडिएको उनले बताएका छन् । धार्मिक आस्थासँगै राजनीतिक र सामाजिक उद्देश्यसमेत जोडेर अघि बढाइएको उनको दण्ड प्रणाम यात्रा हरेक वर्ष छठ पर्वका बेला विराटनगरमा चासोको विषय बन्दै आएको छ । २९औँ संस्करणसम्म आइपुग्दा पराजुलीका लागि यो पर्व विशेषको अनुष्ठान नभई वर्षौंदेखि निरन्तर चलिरहेको व्यक्तिगत संकल्प बनेको छ ।


