इटहरी स् सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक–पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्डको अवस्था भने अझै फेरिन सकेको छैन । वर्षायाममा हिलाम्मे सडक र ठाउँठाउँमा बनेका खाल्डाखुल्डीले स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो सडक खण्डको निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न पछिल्लो पटक सम्बन्धित निकायले स्थलगत अनुगमन गरेको छ । लोकमार्ग आयोजना कार्यालयका कर्मचारी, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार र निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडकको अवस्था तथा निर्माण प्रगति निरीक्षण गर्दै समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । २०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता भएको उक्त सडक २०७४ सालभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, सम्झौताको ११ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । पटक–पटक म्याद थपिँदै आए पनि निर्माणले गति लिन नसक्दा सडक यहाँका स्थानीयले सहज यातायातको सुविधा पाउन सकेका छैनन् ।

सडकको दयनीय अवस्थाले स्थानीयवासीसँगै यातायात व्यवसायीसमेत प्रभावित छन् । हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधन बिग्रिने, मर्मत खर्च बढ्ने र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । सडकको अवस्थाकै कारण दैनिक आवतजावतदेखि स्थानीय उत्पादनको ढुवानीसम्म प्रभावित हुँदै आएको छ । लामो समयसम्म निर्माणले गति लिन नसकेपछि पछिल्लो पटक निर्माणको जिम्मेवारी पाएको कन्टेक प्रालिले पनि अपेक्षित प्रगति गर्न सकेको छैन । यही महिनाको मसान्तमा ठेक्का सम्झौताको म्याद समाप्त हुँदैछ । त्यसैले आयोजना कार्यालयले ठेक्कालाई निरन्तरता दिने वा रद्द गर्ने भन्ने विषयमा स्थलगत अनुगमन गरेको हो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सञ्जयकुमार मिश्रले अब पनि निर्माणमा उल्लेख्य प्रगति नभए ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाने बताए । उनका अनुसार एक महिनाभित्र काममा सन्तोषजनक प्रगति नभए ठेक्का तोड्ने तयारी गरिएको छ । मध्यपहाडी लोकमार्ग तेह्रथुमको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले निर्माणमा भइरहेको ढिलासुस्ती अब स्वीकार्य नहुने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको भनाइ छ । उनले सडक निर्माणलाई शीघ्र अगाडि बढाउन निर्माण कम्पनी, आयोजना कार्यालय र सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

यता, गत वैशाखमा निर्माणको जिम्मेवारी पाएको कन्टेक प्रालिले भने हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको दाबी गरेको छ । कम्पनीले नाली निर्माण, पर्खाल लगाउने तथा बेस बिछ्याउनेलगायतका काम सम्पन्न गरेको जनाएको छ । आवश्यक स्रोतसाधनको अभावका कारण निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै कम्पनीका प्रतिनिधि हरिबाबु पन्तले आगामी फागुनसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । तर, निर्माण कम्पनीको प्रतिबद्धता र आयोजनाको वास्तविक अवस्थाबीचको दूरीले स्थानीयवासीमा आशा र निराशा दुवै पैदा गरेको छ । यसअघि पनि पटक–पटक म्याद थप र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त हुँदै आएका थिए । ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसक्दा नागरिकले सडकको सास्तीबाट मुक्ति पाउन सकेका छैनन् ।

पहाडी क्षेत्रको आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा मात्रै करिब १ सय १९ किलोमिटर लम्बाइमा फैलिएको छ । त्यसमध्ये हालसम्म करिब ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्ड निर्माणकै क्रममा छन् । मध्यपहाडी लोकमार्गले जिल्लाका विभिन्न बस्तीलाई जोड्नुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ । तर, वर्षौंदेखि सडक निर्माण अधुरो रहँदा त्यसबाट प्राप्त हुनुपर्ने विकासको लाभ नागरिकले सहज रूपमा लिन पाएका छैनन् । खोरुङ्गा खोला–यावरा सडक खण्डको पछिल्लो अनुगमनले निर्माणलाई गति दिने अपेक्षा गरिएको छ ।