इटहरी स् भारतबाट लागूऔषध ब्राउन सुगर नेपाल भित्र्याउँदै गरेको अवस्थामा झापा गाउँपालिकाबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बू र २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन्। प्रहरीका अनुसार शनिबार साँझ ६ः३० बजे झापा गाउँपालिका–५ स्थित खादा बस्तीमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकललाई शंकास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायब निरीक्षक सुबास ढुंगानाको कमान्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी शरणामतिका प्रहरी तिर्थबहादुर भण्डारीको कमान्डमा खटिएको टोलीले संयुक्त रूपमा जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडिको बत्तीभित्र लुकाएर राखिएको ब्राउन सुगर फेला पारेको हो। प्रहरीका अनुसार मोटरसाइकलको ब्याक लाइटभित्र कालो प्लास्टिकका तीनवटा पोका बनाएर लागूऔषध लुकाइएको थियो। बरामद लागूऔषध प्लास्टिकसहित २५ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक १६ ग्राम ५४ मिलिग्राम रहेको प्रहरीले जनाएको छ। लागूऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ।


