इटहरी । सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको लिखुपिके गाउँपालिका–३ स्थित एक होटलमा विवाद हुँदा बियरको बोतल प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको हो ।
छिरिङ शेर्पा होटल एन्ड स्नुकर हाउसमा भएको घटनामा होटल सञ्चालक सोमनाथ गुरुङ र आङमाया शेर्पाले चौलाखर्कका ३० वर्षीय उमेश भन्ने धनबहादुर बस्नेतको टाउकोमा बियरको बोतल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार बोतल प्रहारबाट बस्नेत गम्भीर घाइते हुनुभएको छ ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङका अनुसार पक्राउ परेका दुवै जनालाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।


