इटहरी । दुहबी बजारलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने उद्देश्यले सञ्चालन गरिएको बजार सौन्दर्यकरण तथा सरसफाइ अभियान अन्तर्गत कोशी राजमार्गको डिभाइडरमा रोपिएका बिरुवाहरूको गोडमेल तथा मलजल गर्ने कार्यक्रम सम्पन्न भएको छ।
अभियानका क्रममा डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गर्नुका साथै दुहबी नगरपालिकाको बारुणयन्त्र (दमकल) को सहयोगमा बिरुवाहरूमा पानीसमेत हालिएको थियो। कार्यक्रम सफल बनाउन दमकल उपलब्ध गराएकोमा दुहबी नगरपालिका, प्रशासकीय अधिकृत सुवर्ण घिमिरे तथा दमकलका सम्पूर्ण कर्मचारीप्रति अभियानमा संलग्न व्यक्तिहरूले धन्यवाद व्यक्त गरेका छन्। यस अभियानलाई निरन्तरता दिँदै भोलि पनि बिरुवाको गोडमेल तथा मलजल गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
अभियानमा सहभागी हुन स्थानीय दाजुभाइ, दिदीबहिनी तथा युवाहरूलाई कम्तीमा एक घण्टा श्रमदान गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमा सामूहिक सहभागिता र श्रमदान मार्फत दुहबी बजारलाई सफा, सुन्दर र हराभरा बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको हो।


