इटहरी । बबरमहलमा जारी नेकपा एमालेको राष्ट्रिय भेलामा पुराना तथा लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका शीर्ष नेताहरूको पुनर्मिलन भएको छ।
‘नेपाली नेल्सन मण्डेला’ को उपमा पाउनुभएका मोहनचन्द्र अधिकारी, संस्थापक नेता पुष्पलालका भाइ विजयलाल र दिवंगत नेता जिवराज आश्रितकी पत्नी माया ज्ञवालीको उपस्थितिले भेलाको रौनक बढाएको छ। २०७९ को विभाजनका बेला एकीकृत समाजवादीतिर देखिनुभएका मोहनचन्द्र अधिकारी लामो अन्तरालपछि एमालेको कार्यक्रममा फर्किंदै उहाँले पार्टी निर्माणका योद्धालाई फर्किन कुनै विशेष निम्तो नचाहिने सन्देश दिनुभएको छ ।
त्यस्तै, ११ वर्षपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र साढे तीन वर्षपछि टोपबहादुर रायमाझीको उपस्थिति पनि विशेष रूपमा हेरिएको छ। एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले यी पुराना योद्धाहरूको पुनरागमनले अरूलाई देखाउन नभई पार्टीलाई अझ सशक्त बनाउने सङ्कल्प बोकेको स्पष्ट पार्नुभयो।
उहाँले पार्टी आन्दोलन अप्ठ्यारोमा पर्दा पुराना नेताहरू सतिसाल झैँ उभिने विश्वास व्यक्त गर्नुभयो। यसैबीच, प्रचार विभाग प्रमुख नीरज बहादुर आचार्यले पूर्वराष्ट्रपति भण्डारी र माया ज्ञवाली पार्टीसँग निरन्तर जोडिएकै भए पनि पदीय मर्यादा र भूमिकाका कारण केही समय सार्वजनिक गतिविधिमा नदेखिएका प्रष्ट पार्नुभयो। पुराना लिजेण्डहरूको यो पुनर्मिलनले पार्टीभित्र सकारात्मक ऊर्जा सञ्चार गरेको सहभागीहरूले बताएका छन्।


