इटहरी। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६, जन्तरखानीबाट प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले स्थानीय ४३ वर्षीय बुद्धबहादुर मगरलाई आफ्नै घरको कोठाभित्र लुकाइछिपाइ राखिएका हतियारसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार मगरको साथबाट दुई नाल भरुवा बन्दुक, बारुदजस्तो देखिने धुलो पदार्थ भरिएका दुईवटा बट्टा, फलामका २३ टुक्रा र एक रोल केप बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहले घटनाबारे जानकारी दिँदै पक्राउ परेका मगरमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताएका छन्।

 प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।