इटहरी । कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता इटहरी रङ्गशालामा उद्घाटन गरिएको छ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्रीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश प्रथम भए खेलाडीलाई प्रोत्साहन स्वरूप ५ करोड रुपैयाँ र दोस्रो स्थान हासिल गरे ३ करोड रुपैयाँ नगद पुरस्कार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । खेलाडीको मेहनत, लगनशीलता र प्रतिभाको कदर गर्दै प्रदेशको गौरव बढाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्दै उहाँले सफलताको शुभकामना समेत दिनुभयो। कोशी प्रदेश छनोट प्रतियोगितामा ३३ खेल समावेश गरिएकामा प्रदेशले ३१ खेलमा सहभागिता जनाउनेछ । कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ। उद्घाटन समारोहमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री गिता तिम्सिना, राज्यमन्त्री सपना परियार,   प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, सदस्य सचिव विप्लव घोष लगायत विभिन्न खेलकुद संघसंस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको उत्कृष्ट नतिजा सुनिश्चित गर्ने लक्ष्यसहित छनोट प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । मुख्यमन्त्रीको नगद पुरस्कार घोषणाले प्रतियोगितामा सहभागी खेलाडीहरूको मनोबल बढाउने अपेक्षा गरिएको छ ।