इटहरी ।"बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस - २०२६" को अवसरमा सुनसरीको इटहरीमा सरोकारवाला निकायहरूसँग वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (FORWARD) का कार्यक्रम प्रमुख गोविन्द चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा होटल इन्टुरिस्ट प्यालेस, इटहरीमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले बालविवाह सामाजिक अपराध मात्र नभई बालबालिकाको भविष्य र समग्र समाजको विकासमा मुख्य बाधक रहेको बताउनुभयो।

उहाँले इटहरी उपमहानगरपालिकालाई बालमैत्री तथा बालविवाहमुक्त नगर बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामूलक अभियानलाई वडा तहसम्म लैजान सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

2

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ (कोशी, विराटनगर) को समन्वय, 'जस्ट राइट्स फर चिल्ड्रेन' (Just Rights for Children) को सहयोग र ग्रामीण महिला उत्सुकता विकास मञ्च (FORWARD) को आयोजनामा सहभागी कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशीका सुमन अधिकारीले स्वागत मन्तव्य राख्दै दिवसको महत्त्व र अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

3

कार्यक्रममा विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्य प्रस्तुत गर्दै बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबरजस्ती विवाह अन्त्यका लागि विश्वव्यापी तथा स्थानीय प्रयास तीव्र बनाउन आह्वान गरिएको विषयमा चर्चा गरिएको थियो। अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, जनप्रतिनिधि, बालकल्याण अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी प्रशासनका प्रतिनिधि, बाल सञ्जालका प्रतिनिधि सञ्चारकर्मीले समाजमा विद्यमान बालविवाहका चुनौती र यसको न्यूनीकरणका लागि स्थानीय तह, प्रहरी प्रशासन, विद्यालय र नागरिक समाजबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका थिए।