इटहरी स् किरात राई समुदायको मातृभाषा, किरात लिपि तथा सांस्कृतिक भूमि अधिकारका विषयमा केन्द्रित दुईदिने अन्तरक्रियात्मक कार्यक्रम शुक्रबारदेखि इलाम सदरमुकामस्थित होटल ममता मा सुरु भएको छ।
किरात राई यायोक्खा १ नम्बर प्रदेश समिति र जिल्ला कार्यसमिति इलामको आयोजनामा मंसिर ११ र १२ गते सञ्चालन हुने कार्यक्रम सुरु भएको हो। कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष युवराज राई र १ नम्बर प्रदेश समितिका अध्यक्ष राम माण्डुपा राईले सहजीकरण गरिरहेका छन्। केन्द्रीय अध्यक्ष युवराज राईको प्रमुख आतिथ्य तथा प्रदेश अध्यक्ष राम माण्डुपा राईको उपस्थितिमा सुरु भएको कार्यक्रममा समुदायको भाषा, लिपि, संस्कृति र पहिचानसँग जोडिएका विभिन्न विषयमा छलफल भइरहेको छ।
कार्यक्रममा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष कृष्णकुमार खालिङ, सचिव मानभगत चाम्लिङ, सदस्य हेमबहादुर राईलगायत केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको छ। त्यस्तै, इलाम जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न पालिका र वडा समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको आयोजकले जनाएको छ। अन्तरक्रियामा किरात राई समुदायको मातृभाषा संरक्षण तथा प्रवर्द्धन, किरात लिपिको विकास र प्रयोग, सांस्कृतिक पहिचानको संरक्षण तथा सांस्कृतिक भूमि अधिकारका सवालमा छलफल भइरहेको छ। समुदायको ऐतिहासिक भाषा, लिपि, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


