इटहरी — पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय  मोरङको गोठगाउँ परिसरमा शुक्रबार बिहान करिब १० फिट लामो अजिङ्गर फेला परेको छ।

बिहान करिब ९ बजे फेला परेको वयस्क अजिङ्गरको तौल २१ किलो रहेको जनाइएको छ। अजिङ्गर देखिएपछि नगरपालिका प्रतिनिधि र सेक्टर वन कार्यालय सलकपुरका कर्मचारी सम्मिलित टोली उद्धारका लागि परिचालन गरिएको थियो। टोलीले कुनै क्षति हुन नदिई अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो।

विश्वविद्यालय परिसरमै ठूलो अजिङ्गर फेला परेपछि केही समय कर्मचारी तथा त्यहाँ आउने सेवाग्राहीको ध्यान त्यसतर्फ केन्द्रित भएको थियो। उद्धारपछि अजिङ्गरलाई सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको जनाइएको छ।