इटहरी । नेपाल प्रहरी स्कुल धरानको आयोजनामा आठौँ कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

‘फेयर प्ले फर फ्रेन्डसिप’ भन्ने नाराका साथ पुस ३ देखि ११ गतेसम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताबारे आयोजकले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुनेछन् । पहाडी क्षेत्रका साथै सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

विद्यालय तहदेखि नै फुटबल खेलको प्रवर्द्धन, प्रतिभाशाली खेलाडीको पहिचान र भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल प्रहरी स्कुल धरानका प्रहरी निरीक्षक अनिता महतले बताइन् । प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभालाई पहिचान गरी राष्ट्रियस्तरमा अघि बढ्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । प्रतियोगिताका लागि मङ्सिर ११ देखि २८ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार एक रुपैयाँ, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ५० हजार पाँच रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक सागर कार्कीले जानकारी दिए ।

त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही दुई हजार पाँच सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ तथा फाइनल खेलका विधागत उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी स्कुल धरानमा विद्यार्थी भर्नामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी प्रत्येक टोलीका खेलाडीको बिमासमेत गरिनेछ ।