इटहरी स् नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वको विवाद थप पेचिलो बन्दै गएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा पक्षले आ–आफ्नै गतिविधि अघि बढाएपछि पार्टीभित्र दुई धार स्पष्ट देखिएका छन् ।

देउवा पक्ष काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर १५औँ नियमित महाधिवेशनको तयारीमा जुटेको छ भने गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले सानेपास्थित पार्टी कार्यालयबाट नियमित गतिविधि सञ्चालन गर्दै देउवा पक्षका नेताहरूमाथि कारबाहीको तयारी थालेको छ । गगन पक्षले समानान्तर गतिविधि सञ्चालन गरेको तथा पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गरेको आरोप लगाउँदै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले एउटै पार्टीको नाम र चुनाव चिह्न प्रयोग गरेर फरक–फरक गतिविधि सञ्चालन गर्नु पहिचानको दुरुपयोग भएको बताए ।

उनका अनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्नको प्रयोगसम्बन्धी विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । कांग्रेसको रूख चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिलाई पनि पार्टीका नियमित गतिविधिमा सहभागी हुन आग्रह गरिने र त्यसपछि पनि नफर्किए विधानअनुसार अनुशासनको कारबाही अघि बढाइने उनले बताए । यता देउवा पक्षले भने १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ नियमित महाधिवेशन गर्ने अडान राखेको छ । नेपाल दलित संघकी अध्यक्ष यमुना खड्का विश्वकर्माले पार्टीमा दुई पक्ष रहेको भन्ने कुरा स्वीकार गर्न नसकिने बताइन् । उनले देउवा नै निर्वाचित सभापति भएकाले उनकै नेतृत्वमा नियमित महाधिवेशन हुने बताउँदै सबै पक्ष कांग्रेस भएकाले एकअर्कालाई कारबाही गर्नुको औचित्य नरहेको धारणा राखिन् । दुवै पक्षले चारतारे झण्डा र रूख चुनाव चिह्न प्रयोग गरिरहेको अवस्थामा कारबाही कसलाई गर्ने भन्ने उनको प्रश्न छ ।

देउवा पक्षले १५औँ महाधिवेशनको तयारी तल्लो तहबाटै अघि बढाएको जनाएको छ । धेरै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र केही जिल्लामा भौगोलिक तथा संगठनात्मक कठिनाइका कारण बाँकी रहेको विश्वकर्माले बताइन् । उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनसमेत सम्पन्न भइसकेको छ । १५औँ नियमित महाधिवेशनको तयारीमा रहेका तीर्थ गौतमले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई आफ्नो पक्षले मान्यता नदिने बताए । पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नै ढंगले महाधिवेशन गर्दै जाने हो भने संगठन कमजोर हुने उनको भनाइ छ । गौतमले दुवै पक्षले अहिले आधिकारिकता नपाएको दाबी गर्दै एकअर्कालाई कारबाही गर्नेभन्दा नियमित महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने बताए । उनका अनुसार गगन थापा पक्षलाई आफ्नो पक्षको केन्द्रीय समितिले यसअघि नै कारबाही गरिसकेको छ ।

यता गगन पक्षका केन्द्रीय सदस्य सुशील भट्टले निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई आधिकारिकता दिएको र अदालतले पनि महाधिवेशनको प्रक्रिया अघि बढाउन आदेश दिएको दाबी गरे । पार्टीभित्रका असहमति र असमझदारी आन्तरिक छलफलबाट समाधान गर्नुपर्ने उनको भनाइ छ । तर देउवा पक्षले भने पार्टीको आधिकारिकताको विषय अझै अन्तिम रूपमा टुंगिनसकेको दाबी गरेको छ । महाधिवेशन प्रतिनिधि राजकुमार डाँगीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको अन्तिम फैसला नआएसम्म कुनै एक पक्षलाई आधिकारिक र अर्कोलाई अनधिकृत भन्न नमिल्ने बताए । उनले विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीहरूलाई केन्द्रीय कार्यसमिति वा सभापतिले अधिकार दिनुपर्ने जिकिर गर्दै त्यस्तो अधिकारबिना गरिएको महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाए । निर्वाचन आयोगको निर्णयमा त्रुटि रहेको भन्दै आफ्नो पक्षले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको पनि उनले बताए ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको आधिकारिकता र १५औँ महाधिवेशनको विषयलाई लिएर दुई पक्षबीच विवाद चुलिएको हो । नियमित महाधिवेशनअघि एकताको प्रयास भए पनि सहमति जुट्न नसकेपछि दुवै पक्षले आ–आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । देउवा पक्षले यही मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ नियमित महाधिवेशन गर्ने तयारी गरेको छ भने गगन पक्षले स्थानीय तह निर्वाचन लक्षित गतिविधि अघि बढाइरहेको छ । पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र एकअर्कामाथि हुन सक्ने कारबाहीका विषयले कांग्रेसको आन्तरिक विवाद थप जटिल बन्दै गएको छ ।