इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयको कक्षा १० मा पढने  किरण राजवंशीलाई कम्प्यूटर सिक्न कुनै इन्ष्टिच्युट धाउनु परेको छैन । विद्यालयमै रहेको सूचना प्रविधि प्रयोगशालाबाट व्यावहारिक अभ्यास सहितको कम्प्युटर शिक्षा लिन पाउँदा किरण औधी खुसी छन् । अत्याधुनिक कम्प्युटर तथा अन्य सामग्री सहितको ल्याबमा विद्यार्थीहरुले सामूहिक प्रयोगात्मक अभ्यास गर्दै आएका छन् ।

सोही विद्यालयकी छात्रा शोभा खत्री पनि विद्यालयको प्रयोगात्मक शिक्षाबाट सन्तुष्ट छिन् । विद्यालयले कम्प्युटर प्रविधिको सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गरी आफूहरुको व्यावहारिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको उनी बताउँछिन् । २०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु सरकारमा आएपछि उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको मुहार फेरिन थालेको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने रणनीतिका रुपमा स्थानीय सरकारको अगुवाइमा भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएपछि विद्यार्थीले प्रतिस्पर्धाको बजारमा उत्रन लायकको गुणस्तरीय शिक्षा पाउन थालेका छन् । शैक्षिक तथा भौतिक गुणस्तर वृद्धि गर्न दृढतापूर्वक लागेको स्थानीय सरकारले आर्थिक वर्ष २०७५र७६ देखि २०७७र७८ सम्म नौ ओटा पुस्तकालय स्थापना गरिसकेको छ भने चालु आर्थिक वर्ष २०७८र७९ मा थप तीन ओटा पुस्तकालयको निर्माण भइरहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीकाअनुसार पुस्तकालय स्थापनाका लागि प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ ।

पुस्तकालयका साथै इटहरीका विभिन्न १२ ओटा विद्यालयमा सूचना प्रविधि प्रयोगशालासमेत स्थापना गरिएको छ । १२ मध्ये ६ ओटा प्रदेश सरकार अन्य संघीय सरकारको ससर्त अनुदानबाट प्राप्त बजेटबाट प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले विनियोजन गरी निर्माण गरिएको शिक्षा शाखाका अधिकृत फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिए । यसैगरी चालु आर्थिक वर्ष २०७८र७९ मा थप ६ ओटा सूचना प्रविधि प्रयोगशाला निर्माणाधीन अवस्थामा रहेको उनले उल्लेख गरे । काफ्लेकाअनुसार ६ ओटामध्ये चार ओटा प्रयोगशाला राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र दुई ओटा ससर्त अनुदानबाट निर्माण सुरु गरिएको हो ।

यसैगरी, इटहरी उपमहानगर क्षेत्रका सात ओटा विद्यालयमा चारकोठे भवन निर्माण गरिएको छ । सातमध्ये ६ ओटा भवन संघीय सरकारको ससर्त अनुदानबाट सम्पन्न गरिएको र एउटा भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् निर्माणाधीन रहेको उपमहानगरपालिकाले जनाएको छ । 

यसैगरी, १२ ओटा विद्यालयमा बनाइएका दुईकोठे भवनहरुमध्ये १० ओटा भवन ससर्त अनुदानबाट सम्पन्न भई दुई ओटा भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् निर्माणाधीन रहेको छ । यसैगरी एउटा छात्रा शौचालयसहित जम्मा चार ओटा शौचालय ससर्त अनुदानबाट निर्माण सम्पन्न भएको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, तीन ओटा विद्यालयमा रेट्रो फिटिङको काम सम्पन्न गरिएको छ । यसैगरी, उपमहानगरका विभिन्न २५ ओटा सामुदायिक विद्यालयलाई अङ्ग्रेजी, गणित र विज्ञान विषयको अध्यापनका क्रममा गरिने कृयाकलापमा आधारित सामग्री खरिदका लागि प्रतिविद्यालय ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरी पठाइएको छ । यसैगरी, १३ ओटा विद्यालयलाई शिक्षण सहयोग अनुदान उपलब्ध गराइएको छ जसबाट विद्यालयलाई आवश्यक शिक्षक दरबन्दी पूर्ति गर्न सहयोग पुगेको छ ।

संघीय सरकारका अतिरिक्त प्रदेश सरकारले पनि स्थानीय विद्यालयहरुलाई सहयोग गरिरहेको छ । यस क्रममा इटहरीको एउटा विद्यालयमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवन निर्माण गरिदिएको उपमहानगरपालिकाले जनाएको छ । यसैगरी, दुई ओटा विद्यालयमा घेराबारा गरिएकामा एउटाको खर्च प्रदेश सरकारले व्यहोरिदिएपछि एउटा आन्तरिक स्रोतबाट सम्पन्न गरिएको उपमहानगरपालिकाको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरी उपमहानगरका १२ ओटा विद्यालयहरुम शुद्ध खानेपानीको व्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ । जसमध्ये सात ओटा विद्यालयमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, एउटामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र बाँकी चार ओटा विद्यालयमा उपमहानगरपालिकाको आन्तरिक बजेटबाट उपकरण जडानको काम गरिएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेश सरकारबाट लगानी गरिएका विद्यालयहरुमा प्रतिविद्यालय चार लाख ५० हजार रुपैयाँ र उपमहानगरको आन्तरिक बजेटबाट लगानी गरिएका विद्यालयहरुमा प्रतिविद्यालय तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपमहानगरपालिकाको भनाइ छ । १२ मध्ये सात विद्यालयमा उपकरण जडानको काम सम्पन्न भइसकेको छ भने पाँच ओटा विद्यालयमा काम जारी रहेको छ ।

विद्यालयको शिक्षण सिकाइ प्रकृयालाई प्रविधिमैत्री र प्रभावकारी बनाउनका लागि इटहरीका चार ओटा विद्यालयमा उपमहानगरपालिकाको आन्तरिक बजेटबाट स्मार्ट कक्षा सञ्चालनको प्रबन्ध गरिएको छ । यसैगरी, थप चार ओटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरी स्मार्ट कक्षा सञ्चालनको व्यवस्था गरिएको उपमहानगरपालिका बताउँछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकै बजेटबाट थप एउटा विद्यालयमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशालासमेत स्थापना गरिएको छ ।

विद्यालयमा कर्मचारीको अभावका कारण पठनपाठन तथा अन्य दैनिक गतिविधि प्रभावित हुन थालेपछि सेवालाई चुस्तदुरुस्त बनाउने उद्देश्यले उपमहानगरपालिकाले पाँच ओटा विद्यालयमा एक–एक जनाका दरले कर्मचारीको व्यवस्था पनि आन्तरिक बजेटबाटै गरिदिएको छ । ती कर्मचारीलाई मासिक १५ हजार रुपैयाँका दरले उपमहानगरपालिकाले नै तलब भुक्तान गर्दै आएको छ । यसैगरी, १९ ओटा विद्यालयका क्षतिग्रस्त भौतिक संरचनाको मर्मतसम्भारसमेत उपमहानरले आफ्नै आन्तरिक बजेटबाट गरिदिएको छ । यसका अतिरिक्त २९ ओटा विद्यालयमा प्रतिविद्यालय सरदर २० हजार रुपैयाँ विनियोजन गरी विद्युतीय हाजिरी प्रणाली लागु गरेको छ । 

यसबाट शिक्षकहरुको उपस्थितिमा हुने अनियमितता नियन्त्रणमा ठूलो मद्दत पुगेको विद्यार्थीहरुले अनुभूत गरेका छन् । शिक्षकको उपस्थिति नियमित भएपछि पढाइको गुणस्तरमा सकारात्मक प्रभाव परेको छ । विद्यालयको सुरक्षा व्यवस्था तथा विद्यार्थी र शिक्षकको गतिविधिमाथि निगरानी बढाउने उद्देश्यले उपमहानगर क्षेत्रभित्रका १९ ओटा विद्यालयमा उपमहानगरको आन्तरिक बजेटबाट सीसीटीभी लगायतका उपकरण जडान गरी दूर अवलोकन प्रणाली लागु गरिएको छ ।

चार ओटा विद्यालयमा आन्तरिक बजेटबाट रङरोगन गरिदिएको उपमहानगर सरकारले ससर्त अनुदानको बजेटबाट १८ ओटा माध्यमिक विद्यालयमा इन्टरनेट जडानसमेत गरिदिएको छ । यसबाट विद्यार्थी सूचनाको महामार्गमा अन्तरआबद्ध भएका छन् । बालबालिकालाई खेल्दाखेल्दै विद्यालयको पढाइमा अभ्यस्त गराउने लक्ष्यअनुरुप विद्यालयहरुमा सञ्चालित बाल कक्षाको प्रभावकारी सञ्चालनका लागि ६४ जना बाल शिक्षकहरु नियुक्त गरी निजहरुलाई आन्तरिक स्रोतबाटै मासिक ७००० रुपैयाँका दरले एक वर्षमा १३ महिनाको तलब पनि उपमहानगरपालिकाले नै भुक्तान गरिदिने गरेको छ । 

यस प्रयोजनका लागि उपमहानगरको ढुकुटीबाट वार्षिक ५८ लाखभन्दा बढी रकम खर्च हुने गरेको छ । यसका अतिरिक्त उपमहानगरले ४७ जना विद्यालय कर्मचारी तथा तीन जना सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुलाई मासिक सात हजार रुपैयाँ भुक्तान गरी परिचालन गरेको छ ।

नमुना विद्यालय सुधार गुरुयोजनाअनुरुप संघीय सरकारको राष्ट्रिय योजना आयोगबाट स्वीकृत भई अर्थ मन्त्रालयमार्फत् इटहरीको जनता माध्यमिक विद्यालयलाई वार्षिक एक करोड रुपैयाँका दरले तीन वर्षमा तीन करोड रुपैयाँ भौतिक पूर्वाधार निर्माणका लागि अनुदान दिइएको छ । सो रकमबाट तीन ओटा १२ कोठे भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । 

उनका अनुसार पहिलो भवन एक करोड ८७ लाख र दोस्रो भवन दुई करोड १० लाखमा निर्माण सम्पन्न भएको छ भने तेस्रो निर्माणाधीन भवनको लागत दुई करोड १२ लाख पर्ने अनुमान छ । अन्तिम चरणको निर्माणकार्य जारी रहेको ययो भवनको निर्माण सम्पन्न भएपछि लागत विवरण यकिन गरी उपमहानगरपालिकाले निर्माण सम्पन्न प्रतिवेदन दिने प्रधानाध्यापक सिग्देलको भनाइ छ । यसका अतिरिक्त यस वर्ष पनि विद्यालयलाई ७० लाख रुपैयाँ अनुदान प्राप्त भएकोमा सो रकम विज्ञान प्रयोगशाला निर्माणमा खर्च गर्ने योजना रहेको सिग्देलले प्रष्ट पारे । उनका अनुसार यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान संकायको पठनपाठन सुरु गर्ने तयारी गरिएकाले दुई करोड ९३ लाखको लागत अनुमानसहित विज्ञान प्रयोगशालाको निर्माण प्रारम्भ गरी क्रमिक रुपमा तीन वर्षमा सम्पन्न गरिने भएको छ । 

कक्षा १ देखि १२ सम्म दुई हजार पाँच सय ४१ विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा कक्षा १ देखि १० सम्मका २९ जना र कक्षा ११ र १२ का २५ जनालाई अध्ययनका लागि छात्रवृत्ति दिइएको छ । विद्यालयमा अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीका छोराछोरीलाई निःशुल्क अध्ययनको प्रबन्ध गरिदिएको विद्यालयले कक्षा ५ सम्मको पढाइ सबैका लागि पूर्ण निःशुल्क गरेको छ भने ६ देखि १० सम्मका विद्यार्थीले भने वार्षिक ४०० रुपैयाँ शुल्क बुझाउनुपर्छ । ३३ जनाको मात्र शिक्षक दरबन्दी स्वीकृत रहेको यस विद्यालयमा अन्य ३९ जना शिक्षकहरुलाई निजी स्रोतबाट तलब भुक्तान गरी परिचालन गरिएको प्रधानाध्यापक सिग्देलले जानकारी दिए । 

कक्षा ४ देखि ८ सम्म कम्प्युटर शिक्षा अनिवार्य गरिएको बताउँदै उनले त्यसका लागि विद्यालयसँग ६० ओटा कम्प्युटर सहितको प्रयोगशाला रहेको उल्लेख गरे । यसका साथै १४ ओटा ल्यापटप र ११ ओटा प्रोजेक्टर तथा सात ओटा इन्टरेक्टिभ बोर्ड प्रयोग गरी आवधिक रुपमा मल्टिमिडिया कक्षासमेत दिने व्यवस्था गरिएको बताए ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत भई इटहरीकै कचना महादेव माध्यमिक विद्यालय र बुढीगंगाा प्राथमिक विद्यालयलाई आपसमा गाभेर १६ करोड रुपैयाँको लागतमा आवासीय विद्यालय निर्माणको प्रकृयासमेत सुरु भएको छ । अत्याधुनिक सुविधासम्पन्न २४ कोठे विद्यालय भवन तथा छात्रावास निर्माणको गत फागुन १७ गते इटहरीका नगरप्रम्ख द्वारिकलाल चौधरीसमेतको उपस्थितिमा शिलान्यास सम्पन्न भइसकेको छ । ठेक्का प्रकृया सम्पन्न गरी निर्माण सुरु गर्ने सिफारिसका लागि मूल्याङ्कन समितिमा योजना विचाराधीन रहेको विद्यालयले जनाएको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार विद्यालय नर्सिङ कार्यक्रमअन्तर्गत इटहरी उपमहानगरपालिका क्षेत्रका दुई ओटा सामुदायिक विद्यालयमा एक एक जनाका दरले स्टाफ नर्ससमेत नियुक्त गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

यसका अतिरिक्त संघीय सरकारले लागु गरेका कक्षा १ देखि ८ सम्मका छात्राहरुका लागि वार्षिक ४०० रुपैयाँको छात्रा छात्रवृत्ति, १ देखि ८ सम्मकै दलित विद्यार्थीका लागि वार्षिक ४०० रुपैयाँको दलित छात्रवृत्ति, अपाङ्गता भएका विद्यार्थीका लागि परिचयपत्रको वर्गका आधारमा दिइने छात्रवृत्ति, कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक (यसअघि १ देखि १० सम्मका विद्यार्थीलाई दिने गरिएकोमा यस वर्षदेखि १२ कक्षासम्म विस्तार गरिएको) तथा शिक्षण सिकाइ सामग्री अनुदान प्रतिविद्यार्थी वार्षिक बाल कक्षामा पाँच सय रुपैयाँ, १ देखि ५ कक्षासम्म एक सय ५० रुपैयाँ, ६ देखि १० कक्षासम्म दुई सय रुपैयाँ र ११ र १२ कक्षाका विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक २५० रुपैयाँका दरले इटहरीका विद्यालयहरुमा पनि वितरण भइरहेको उपमहानगरपालिकाले जनाएको छ । यसका अतिरिक्त प्राविधिक धारका विद्यार्थीहरुलाई वार्षिक प्रतिविद्यार्थी १५ हजार रुपैयाँ अनुदान दिइरहेको उपमहानगरपालिकाको अभिलेखले देखाएको छ ।

इटहरी उपमहानगरपालिकाले गुणस्तरीय शिक्षाको प्रत्याभूतिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसैको प्रतिफलस्वरुप उपमहानगरमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि भइरहेको उल्लेख गरेको छ । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफूहरु निर्वाचित भएको पहिलो वर्ष नै शिक्षा ऐन निर्माण गरेको बताइन् । सोही ऐनका आधारमा तयार भएको शिक्षा सुधार कार्ययोजनामा हरेक विद्यालयमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला स्थापनाको नीति समेटिएको जानकारी दिइन् । 

उनले क्रमिक रुपमा नगरका सबै विद्यालयमा यो कार्यक्रम लागु गरिने प्रतिबद्धता जनाइन् । नगर सरकारले शिक्षा सुधार कार्ययोजना कार्यान्वनमा ल्याई विद्यालयहरुमा एउटै रङका भवन, खानेपानी, सरसफाइजस्ता पूर्वाधार निर्माणका साथै विद्यार्थी शिक्षक अनुपातलाई सन्तुलनमा ल्याउनेगरी दरबन्दी मिलान तथा स्थानीय पाठ्यक्रमसमेत निर्माण गरेको उपमेयर गौतमले जानकारी दिइन् । उनका अनुसार विद्यालयहरुमा शिक्षा सुधार कार्ययोजना लागु भइसकेपछि सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यममा पठनपाठनको विस्तार भएको छ भने निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारणले शैक्षिक क्षेत्रको व्यावसायिक विकृति नियन्त्रणमा टेवा पुगेको छ । 

निजी विद्यालयमा समेत विद्यालय व्यवस्थापन समिति रहने कानूनी व्यवस्था गरिएको बताउँदै उपमेयर गौतमले यसले निजी विद्यालयको अनुगमन गर्न सहज हुने विश्वास व्यक्त गरिन् । दूर अवलोकन प्रणालीमार्फत् मेयर र उपमेयर कक्ष तथा शिक्षा शाखाबाट विद्यालयका गतिविधिको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाइएपछि शिक्षक तथा विद्यार्थीहरुको लापरबाहीमा कमी आएको उनको कथन छ । उपमहानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम यसैसातादेखि लागु हुने कुराले आफूलाई हर्षित बनाएको गौतमले बताइन् ।