महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई तथा लहठी चुरी बनाउने सीपमुलक तालिम आज जेष्ठ २१ गतेबाट एकडारा गाउँपालिकामा शुरु भएको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुनले सीपले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरा बताउनुभयो ।
“महिलाहरुलाई घरभित्रको काममा मात्र सीमित गरिनु हुन्न ।” उपाध्यक्ष खातुनले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर्छ।”
सोही अवसरमा बोल्दै एकडारा गाउँपालिका उद्यम विकास शाखाका विकास मण्डलले सीपलाई उद्यमसँग जोडेर व्यवसायिक योजनाका साथ व्यवसाय अगाडि बढाउनु पर्ने बताउनुभयो ।
आयोजक संस्था एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका उपाध्यक्ष फुलमाया घिसिङको अध्यक्षता एवं एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुनको प्रमुख आतिथ्यतामा शुरु भएको ३ महिने सिलाई कटाई तालिम र १५ दिने लहठी चुरी बनाउने तालिमको प्राविधिक सहजीकरण जानकी टेक्निकल ट्रेनिङ सेन्टर, जनकपुरले गरिरहेको छ ।
तालिममा सिप सिक्ने जाँगर भएका २७ जना विपन्न महिलाहरुको सहभागिता रहेको छ । जस अन्तर्गत ३ महिने सिलाई कटाई तालिममा १५ जना र लहठी चुरी तालिममा १२ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिम पश्चात सहभागीहरुलाई ब्यवसाय शुरुवातका लागि आवश्यक औजार तथा उपकरणहरु पनि प्रदान गर्ने योजना रहेको एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत आरती चौधरीले संचालन गर्नुभएको तालिमको उद्घाटन कार्यक्रममा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने संस्थाका निवर्तमान सचिव उमेश न्यौपाने, जानकी टेक्निकल ट्रेनिङ सेन्टर, जनकपुरका व्यवस्थापक रामनारायण मण्डलले समेत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।


