याे शहर
याे काेलाहल
अनि कानमा बजिरहने
याे अत्यासलाग्दाे कर्कश आवाज
लाग्छ थुनिएको छु कतै
कालाे अँध्याराे काेठामा
अत्तालिरहेछु
निसास्सिरहेछु
स्याँ स्याँ गर्दै
लामाे सास फेर्छु
लाग्छ काेही छ यहाँ
जाे मेराे घाँटी दबाइरहेछ
फेरि अत्तालिन्छु
अनि चिच्याउछु
जाेड जाेड सँग
अचानक बिउँझिन्छु
झसङ्ग हुँदै
जुरुक्क उठ्छु
अनुहारमा छम् छम् पानी छ्याप्छु
सम्हाल्न खाेज्छु अाफैँलाई
निस्किन खाेज्छु त्याे सपनाबाट
फर्किन खाेज्छु यथार्थमा
जसाेतसाे दिन त कटाउँछु
तर अाउँछ फेरि उहि भयङ्कर रात
निदाउनै डर लाग्छ
तर पनि बिस्तारै कतिबेला परेली जाेडिन्छन्
अनि दाेहारिन्छ फेरि
त्यही सपना
हरेक दिन यही कहानी
त्यही कहालीलाग्दो सपनी
अनि उस्तै अत्यासलाग्दाे बिहानी।

