इटहरी ।  मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उद्योग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको कामसमेत प्रभावित भएको छ । प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसर र बेलबारी नगरपालिकाअन्तर्गत पर्ने चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो । कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिटी र अलकत्राको मिश्रण) उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्स्ट्रक्सनले निर्माण अवधिभर निर्माण सामग्री र अस्फाल्ट उत्पादन गर्न सम्झौता गरी करारमा लिएको बताइएको छ ।

उद्योग बन्द हुँदा दैनिक ५०० मिटर सडक कालोपत्र गर्ने काम ठप्प भएको उद्योगका प्रतिनिधि उज्ज्वल प्रसाईंले बताउनुभयो । उहाँका अनुसार दैनिक ८०० घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ, जसको बजार मूल्य प्रतिघनमिटर करिब तीन हजार रुपियाँ पर्दछ । जिल्ला प्रशासन कार्यालयले दुवै उद्योगबाट बिल भर्पाइ र आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको छ । विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै उत्खनन गरेको र वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको सूचनाका आधारमा प्रशासनले छानबिन सुरु गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्योगका बारेमा धेरै उजुरी परेकाले कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । प्रशासनले आर्थिक अनियमितता र मापदण्ड उल्लङ्घनको पाटो केलाउन राष्ट्रपति चुरे संरक्षण कार्यालय मोरङका प्रमुखको नेतृत्वमा सात सदस्यीय प्राविधिक छानबिन समितिसमेत गठन गरेको छ ।प्रशासनले नियमविपरीतका उद्योगमाथि कडाइ गर्ने नियमित प्रक्रियाअन्तर्गत यो कदम चालेको जनाए पनि सडक विस्तारजस्तो राष्ट्रिय गौरवको आयोजनामा प्रयोग हुने कच्चा पदार्थ रोकिएपछि निर्माण पक्ष भने दबाबमा परेको छ ।

हाल राजमार्गको अन्य काम सुचारु रहे पनि कालोपत्र गर्ने मुख्य कार्य भने सामग्री अभावमा रोकिएको छ । यसैबीच, केही दिनअघि मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञराज न्यौपानेले जथाभाबी खोला उत्खनन गरेको, मापदण्डविपरीत क्रसर सञ्चालन गरेको र स्थानीयलाई धुलो तथा धुवाँका कारण सास्ती दिएको गुनासो आएपछि सञ्चालकहरूलाई छलफलका लागि बोलाउनुभएको थियो ।