
पुरा पढ्नुहाेस् कविता
पृथ्वीको यात्रामा पृथ्वी
वि.सं. १७७९ देखि १८३१ सम्म स्वर्गमै थिएँ म ।
५२ वर्षको अथक र अविरल यात्रापछि
देवीघाट माथिको आकाशे बाटो हुँदै
प्राणभन्दा पनि प्यारो त्यो स्वर्ग छाडेर
फेरि यो अर्को स्वर्गमा आएको थिएँ म ।
हे ! माता चन्द्रप्रभावती
हे ! माता कौशल्यावती
मेरो शीरमा नपरेको भए
तिम्रो न्यानो र कोमल हत्केला
सम्भवै थिएन– मेरो एक्लो यात्रा
झन् कसरी सम्भव हुन्थ्यो–
विशाल भूगोल रच्ने कल्पना ?
झन् कसरी सम्भव हुन्थ्यो–
रच्नलाई पृथ्वीको सिङ्गो सपना ?
हे ! धर्तीमाता
अहिले पनि
मेरो शीरमाथि नहल्लिकन बसेको छ
गुरु गोरखनाथले दिनुभएको
आशीर्वादको चरो
त्यही चरोलाई साक्षी राखेर
मैले जोगाउनु थियो
टुक्रिँदै गएको हिमवत्खण्ड
जोगाउनु थियो– हिमालयको स्वतन्त्र अस्तित्व
हे ! केवलपुरकी थपिनी आमा
तिमीले दियौ
मैले जीवनभर जानेर नसिद्धिने
दिव्यज्ञान !
तिमीले दियौ–
मैले जीवनभर तपस्या गरेर पनि
प्राप्त गर्न नसक्ने
विराट आत्मा !
यति सजिलै
म कसरी भुल्न सक्छु
तिम्रो सकल प्रतिबिम्ब ?
हे ! बिसे नगर्ची
मेरा टुक्रा टुक्रा सपनाहरूलाई सिलाएर
तिमीले सँगसँगै बनाइदियौ–
सपनाहरूको फराकिलो आकाश र धरती
अहिलेसम्म पनि मेरो कानमा गुन्जिन्छ–
तिमीले बजाएको नगरा, सहनाई
तिमीले बजाएको युद्ध र उत्सवको धून
बडो सीपपूर्वक तिमीले चलाएको सियोधागो
मेरो खल्तीमै छ अहिले पनि–
तिमीले दिएको सल्लाहको रुमाल ।
म कसरी भुल्न सक्छु ?
राज्यलाई मन्दिर ठानेर तिमीले चढाएका
मूल्यवान् द्रव्यहरूको योगदान ।
हे ! दलमर्दन,
मेरो भाइ,
यति सजिलै म कसरी भुल्न सक्छु ?
– चेपे नदीको किनार
– गोरखा दरबार
– नुवाकोट, कीर्तिपुर
– कान्तिपुर र पाटनका फाँटहरू
– मकवानपुर
– दू…..र पूर्वको विजयपुर
– तुर्की घोडाको गतिमा लड्ने
मेरा बहादुर खस योद्धाहरू
– पाँडेको ढाल
– बस्नेतको तरबार
– त्यो वसन्तपुरको फराकिलो पटाङ्गिनी र सुन्दरीचोक ।
हे ! इन्द्रकुमारी,
मेरै निम्ति तिमीले
आधा प्राण दिएर/आधा प्राण लिएर
बितायौ सारा जिन्दगानी
बिना कुनै स्पर्श तिमीले दिएको अगाध प्रेम बिना
कसरी रच्न सक्थ्यो
मेरा साना पैतालाले
काव्यभन्दा नि अतीव सौम्य र सुन्दर यो मुलुक !
हे ! कालु पाँडे
हे ! वंशराज
तिमीहरूको अमूल्य रगत र पसिनाले सिँचेर
मैले बडो दु:खले आर्ज्याको यो मुलुक
सार्वभौम जनतालाई यत्तिकै सुम्पेको कहाँ हो र ?
हे ! सुरप्रताप,
सँगै भएर पनि किन सँगै छैनौ हामी यहाँ ?
यहाँ हाम्रो कपालभन्दा किन चाँडो चाँडो फुल्दै छ हाम्रो सोच ?
किन श्वास फुल्दै फुल्दै गइरहेछ मेरो यहाँ ?
हरदम… हरपल…
मातृभूमि सम्झेर
वर्षौंवर्षसम्म एकोहोरो बस्दा बस्दा
एकै ठाउँमा
निसासिइसकें म यहाँ
हे ! दुवानहरू हो
हे ! कसाईहरू हो
निकाल मलाई यो अँध्यारो खाल्डोबाट
बाँचुन्जेल कसैले नदेखेको/नभेटेको
यो स्वर्गबाट
जीवित हुँदाहुँदै देखिने/भेटिने
हरियै फक्रेका डाँडाकाँडा, पहाडपर्वत
र सेतै फुलेका हिमशैलहरूले सिँगारिएको
त्यो स्वर्गमा
मलाई फेरि फर्कनु छ
चम्किलो ज्योति बनेर ।
मलाई फेरि फर्कनु छ–
यो स्वर्गभन्दा कहाँ हो कहाँ सुन्दर
मेरो प्राणभन्दा कति हो कति प्यारो
मेरो देश नेपाल !
र, तहाँ पुगेर कहनु छ–
अहिलेसम्म कसैले नदेखेका
उज्यालाहरूलाई समेटेर
– अर्को आधुनिक दिव्योपदेश ।
सिजन श्रेष्ठ
स्थायी ठेगानाः पाँचखपन नगरपालिका वडा नं. ६, वाना, सङ्खुवासभा ।
हालः सुन्दरहरैँचा नगरपालिका मोरङ ।



