सन्जिप तिम्सिना
भोजपुर | भोजपुरको हरियो डाँडामाथि बसेको एउटा सानो गाउँ। जहाँ बिहानको घामपहाड चुम्दै उदाउँथ्यो, अनि गाउँका बालबालिकाले "गुड मोर्निङ सर!" भन्दै खगेन्द्र चौलागाईंलाई अभिवादन गर्थे। उनी शिक्षक मात्र होइन, एउटा प्रेरणा थिए।
टेम्केमैयुङ गाउँपालिका–३ स्थित अन्नपूर्ण वागधन रणदीपा राई माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक थिए खगेन्द्र। तर उनको मुटुमा बजिरहन्थ्यो — एक गहिरो सपना: निमावि तहको शिक्षक बन्ने। त्यो केवल पदको आकांक्षा थिएन, त्यो समाजप्रतिको प्रतिबद्धता थियो — उज्यालो भविष्यका निर्माणकर्ता बन्ने।
केही दिनअघि मात्र उनी भोजपुरबाट इटहरी झरेका थिए। शिक्षा सेवा आयोगको निमावि तहको परीक्षा थियो। शनिबार बिहान, ज्योति माविको परीक्षा कक्षमा उनको कलमले आत्मविश्वासका अक्षरहरू लेख्यो। परीक्षापछि उनले दिदी र भिनाजुलाई भने —"अब म पास हुन्छु।" उनको अनुहारमा उज्यालो थियो — शिक्षक बन्ने सपना आँखैमा टल्किएको।
त्यही साँझ, साइँली दिदी लक्ष्मी पराजुलीसँग मोटरसाइकलमा ठुली दिदी तारा तिम्सिनाको घरबाट फर्किंदै गर्दा —तरहरास्थित दंगाल टोल नजिकै, झापाबाट धरानतर्फ आइरहेको यात्रुवाहक बसले उनीहरूलाई ठक्कर दियो।
सपना थामिए, समय रोकियो, संसार मौन भयो। दुबैलाई गम्भीर अवस्थामा विराट नर्सिङ होम पुर्याइयो। तर खगेन्द्रको टाउकोमा लागेको चोटले साँझलाई सधैंका लागि अध्यारो बनायो। रातको निस्तब्धतामै, उनले जीवनको अन्तिम सास फेरे।
भिनाजु धिरेन्द्रको स्वर अझै काँप्छ — "शिक्षक बन्ने सपना बोकेको त्यो अनुहार अब कहिल्यै फर्किने छैन..." उनी कसरी जान्न सक्थे — त्यो मुस्कान, त्यो जीवन, त्यो बाटो यति चाँडै अन्त्य हुनेछ भनेर?
खगेन्द्र केवल शिक्षक होइनन्, उनीआमाका एकमात्र सहारा, विद्यार्थीहरूका प्रिय सर, अभिभावकको भरोसा,गाउँका प्रेरणादायी युवक थिए। तर नियतिको एक झट्काले सबै चकनाचुर बनायो।
खगेन्द्रले एक कुरा बारम्बार भनिरहन्थे —"पहिले निमावि शिक्षक हुन्छु, अनि मात्र बिहे गर्छु।" तर त्यो सपना पनि झर्नाको छाँगोझैँ भासिँदै गयो। उनी गाउँका सबैको प्रिय थिए। केवल शिक्षक मात्र होइन, फुटबल खेलाडी पनि।
गाउँ–गाउँमा हुने प्रतियोगितामा खगेन्द्र पुगेको खेल जित्थ्यो। उनले पुरस्कार ल्याउँदा सारा गाउँको मुहारमा गर्व देखिन्थ्यो। अब, त्यो मैदान पनि शून्य छ। साथिहरूको टोली अधुरो लाग्छ।
उनका जेठा दाजु पनि शिक्षक हुन्।दाजुभाइको त्यो साझा यात्रा शिक्षामा सँगै अगाडि बढ्ने थियो। तर दाजुले अब त्यो सपना एक्लै अगाडि बढाउनुपर्ने भयो — भाइको सम्झनालाई मनको कुना-कुनामा समाएर।
खगेन्द्रको मृत्यु केवल एउटा दुर्घटना होइन —
यो समाज, शासन र प्रणालीप्रतिको प्रश्न हो:
के सडक अझै यति असुरक्षित नै रहने हो?
के शिक्षक बन्ने सपना पुरा हुनुअघि नै सडकमै टुक्रिने हो? र, जब एक शिक्षकको सपना अधुरो रहन्छ, त्यो के समाजको हार होइन र?
एक उज्यालो सपना थियो, जुन अस्ताउनै पर्दैनथ्यो। तर आज, भोजपुरको एउटा गाउँमा आमाको आँगन खाली छ, विद्यालयको पाटी छ, अनि एउटै प्रश्न गुन्जिरहेछ — "त्यो अनुहार किन चिरकालका लागि हरायो?"
मृत्युु शास्वत सत्य हाे तथापि याे उमेरमा महान सपना उज्वल भविष्यकाे खाेजिमा दाैडदै गर्दा सबैकुराकाे अन्त्य हुने गरि भयानक दुर्घटनामा परी क्षतविक्षत हुनु पर्याे । सामाजिक व्यक्तित्व, सहयाेगी, मिलनसार अनि विद्यालयका हरेक खेलकुदमा आफ्नाे विद्यार्थीलाई प्रथम बनाउने सपना बाेकेर दाैडने तपाईंको दाैडमा ब्रेक लाग्याे ।


