इटहरी । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै सबै पदमा पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको संघले जनाएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित हुनुभएको छ । त्यसैगरी वाणिज्य तर्फका उपाध्यक्षमा विकास बेगवानी र उद्योग तर्फबाट उपाध्यक्षमा संजयकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको महासचिवमा अमित सारडा, सचिवमा अमित राठी, कोषाध्यक्षमा दिपेश सुवेदी र सह–कोषाध्यक्षमा विनीत सिंघानिया निर्विरोध हुनुभएको छ । संघको प्रवक्ताको जिम्मेवारी सुशिल सुरानाले पाउनुभएको छ । संघको वाणिज्यतर्फको सदस्यहरूमा सुशिल सुराना, विवेककुमार अग्रवाल र अन्वित घिमिरे निर्वाचित हुनुभएको छ । त्यस्तै, उद्योगतर्फ पवन राठी, राजेशकुमार अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा र बेदान्त जाजु निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहले नयाँ कार्यसमितिले विराटनगर र मोरङको औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकास र समस्या समाधानका लागि ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग र वाणिज्य दुवै क्षेत्रका अनुभवी व्यवसायीहरू समेटिएको कार्यसमितिले सबैलाई साथमा लिएर निजी क्षेत्रको मनोबल उच्च बनाउन भूमिका खेल्ने साहले बताउनुभयो ।

