इटहरी। पाँचथरको फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रभावकारी भएको छ । 

तीन वर्षदेखि सञ्चालित कार्यक्रमले बालकक्षाको सिकाइ वातावरण सुधारसँगै बालबालिकाको सिकाइ, सहभागिता, व्यवहार र सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको सहभागी, शिक्षक र अभिभावकले बताएका हुन् । रातो बङ्गला स्कुल र फिदिम नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम बालकक्षाका बालबालिकाको सर्वाङ्गीण विकास र सहजकर्ताको क्षमता अभिवृद्धिमा केन्द्रित थियो । कार्यक्रम अन्तर्गत बालकक्षा सहजकर्तालाई तालिम तथा निरन्तर सहजीकरण, कक्षाकोठा व्यवस्थापन र सिकाइ सामग्रीको निर्माण, व्यवस्थापन तथा प्रयोगमा जोड दिइएको छ ।

कार्यक्रमपछि सहजकर्ताको क्षमता बढ्नुका साथै कक्षाकोठा व्यवस्थापन र सिकाइ सामग्रीको प्रयोगमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ । बालबालिकामा चौतर्फी विकास देखिएको तथा अभिभावकमा सामुदायिक विद्यालयप्रतिको धारणा पनि सकारात्मक बनेको फिदिम माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो  । तीन वर्षको अनुभव र उपलब्धिको मूल्याङ्कनसहित कार्यक्रमलाई आगामी दिनमा दिगो रूपमा सञ्चालन गर्न विभिन्न सुझावसमेत प्रतिवेदनमा दिइएको छ । फिदिममा आयोजित कार्यक्रममा अनुसन्धाता एवं एक्सपर्ट मिडिया एन्ड रिसर्चका कार्यकारी प्रमुख कुन्दन आचार्यले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

रातो बङ्गला स्कुलकी निर्देशक शान्ता दीक्षितले भिडियो सन्देशमार्फत बालकक्षा सहजकर्ता र बालबालिकामा आएको सकारात्मक परिवर्तनले कार्यक्रम सार्थक भएको बताउनु भयो । बालकक्षाका बालबालिकाको सर्वाङ्गीण विकास र सहजकर्ताको क्षमता अभिवृद्धि कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले शैक्षिक गुणस्तर सुधारका लागि गरिएको साझेदारीप्रति रातो बङ्गला स्कुल परिवारलाई धन्यवाद दिँदै कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका तयार रहेको बताउनुभयो ।  

रातो बङ्गला स्कुलले विभिन्न जिल्लाका एक सय ५० भन्दा बढी सामुदायिक विद्यालयमा शिक्षक तालिम, प्रारम्भिक बालकक्षा तथा कक्षाकोठा व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।  दैलेखका ५१३ वटै सामुदायिक विद्यालयमा रातो बङ्गला फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजनाले अन्तर्राष्ट्रिय ‘युनेस्को हाम्दान अवार्ड’समेत प्राप्त गरेको थियो ।