प्रमिला घिमिरे
विगत धेरै वर्ष पहिलेको कुरा हो, जब म विद्यालयमा पढ्थें। मेरा साथीहरू साँच्चै मिलनसार थिए—हामी हरेक समय सँगै हाँस्थ्यौं, खेल्थ्यौं, अनि जीवनलाई रमाइलो ठान्थ्यौं।
एक दिन साथीहरूको लहैलहैमा परेर हामीले नयाँ होटेलमा खाजा खाने योजना बनायौं। त्यो ठाउँमा केटा–केटी सबैजना जम्मा हुने गथ्र्यौं। हामी भर्खरै किशोरावस्थामा प्रवेश गरेका थियौं—उमेरको त्यो मोड जहाँ सहमतिभन्दा बढी साथीको प्रभाव चल्ने गर्छ।
त्यही ग्रुपका दुई–चार जना साथीहरू चुरोट खान्थे। म खासै चासो दिँदिनथेँ। तर एकदिन उनीहरूले "आज तिमी पनि तान्नैपर्छ" भनेर जबरजस्ती गरे। मैले 'नाइँ' भनेँ तर उनीहरूको हाँसो र दबाबले गर्दा मैले एउटा सर्को तानेँ। त्यसबेलाको त्यो एक सर्को... आज सम्झँदा लाग्छ त्यो नराम्रो निर्णयले मेरो जीवन नै बदलेको रहेछ।
धीरे–धीरे त्यो एक सर्को आदत बन्यो। कक्षाको घण्टी भन्दा पहिले म चुरोट खोज्थें, साथीहरू नभए पनि म आफैँ चुरोट पिउन थालें।
सालहरू बिते। मेरो स्वास्थ्य बिस्तारै कमजोर हुँदै गयो। अनि एकदिन डाक्टरले भन्नुभयो:
> "तपाईंलाई क्रोनिक ब्रोनकाइटिस भएको छ। अब १० वर्षभन्दा बढी बाँच्ने सम्भावना छैन।"
त्यो शब्दहरू मेरो छातीभन्दा गहिरोमा चोट लागे। आज सास लिँदा पोल्छ, बाँच्नका लागि संघर्ष गर्नुपर्छ। अनि यो सबैको जरो... त्यो एउटा सर्को चुरोट!
मेरो बिन्ती
यदि तिमी अहिले पनि कुलतमा फसेका छौ—चुरोट, सुर्ती, लागू औषध वा अरू कुनै नशामा—आजै सोच बदल।
किनभने भोलि नहुन पनि सक्छ।
म जस्तै न पछुताउनू।
म जस्तै न रोउनू।
जसले तिमीलाई धकेल्छ, उसैका लागि तिमी सधैं अपांग भएर बाँच्छौ भने त्यो मित्रता होइन, त्यो बर्बादी हो।
(काल्पनिकतामा आधारित यथार्थ )


