भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।
उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।
सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब ३२ करोड रुपैयाँ र प्रदेश सरकारबाट करिब ५ करोड बराबरका योजना तथा कार्यक्रमहरू प्राप्त भएको जानकारी गराउनुभयो। उहाँले ती योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै, विकास पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले सडक, विद्युत्, सञ्चार, यातायात, कृषि, पशुपालन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने जनाउनुभयो।
पारित बजेटमा महिला, बालबालिका, युवा तथा सबै समुदायका नागरिकलाई लक्षित गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सिप तथा श्रम विकास, बालश्रममुक्त समाजको स्थापना, पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रवर्द्धन जस्ता कार्यक्रमहरू समेटिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र बजेट खर्चको अवस्था लगायतका विषयमा संक्षिप्त जानकारी दिनुभयो। उहाँका अनुसार पारित बजेटका कार्यक्रमहरू कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि मिलेर लाग्नुपर्ने आवश्यकता रहेको छ।
गाउँसभाको अवसरमा निर्णय सार्वजनिकिकरण तथा आभार कार्यक्रमसमेत सम्पन्न भएको थियो। सो अवसरमा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सर्वसाधारण तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
विभिन्न वडाध्यक्षहरूले बजेट कार्यान्वयनमा सबै पक्ष एक भएर लाग्नुपर्ने धारणा व्यक्त गरे। वडा नं १ का अध्यक्ष कुमार तामाङले कार्यक्रमहरू समयमै कार्यान्वयन गर्न स्थानीय तह, कर्मचारी र उपभोक्ता समिति सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
वडा नं २ चम्पेका वडाध्यक्ष इन्द्र पुलामीले चुनौतीका बाबजुद पारित बजेट तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवै सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउनुभयो। वडा नं ३ प्याउलीका अध्यक्ष कुमार कार्कीले सीमित स्रोतसाधनबीच जनताको बढ्दो अपेक्षा पुरा गर्न सक्ने गरी उपभोक्ता समिति र समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने विचार राख्नुभयो।
वडा नं ५ याकुका अध्यक्ष युवराज ढकालले योजनाहरूलाई प्राथमिकताका आधारमा छनोट गरिएको बताउँदै तिनको समयमै सम्पन्नता सुनिश्चित गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाउनुभयो। वडा नं ६ जरायोटारका अध्यक्ष गणेश टंक राईले बजेट तर्जुमा सकिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनको चरण अब सुरु भएको भन्दै सबै पक्षलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो।
कार्यपालिका सदस्य ललित राईले गाउँसभाले पारित गरेको नीति, योजना र बजेट नै पालिकाको भविष्य निर्धारण गर्ने आधार भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको सभाध्यक्षतामा सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नं १ देखि ६ का वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितिमा नीति, योजना र बजेट पारित गरिएको हो।