इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० झापाले ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ। ‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ भन्ने नारासहित शिवसताक्षी नगरपालिका–स्थित वाटर किङडम रिसोर्ट, झिलझिलेमा प्रतियोगिता आयोजना गरिएको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ९रोशन०को प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेका थिए। कार्यक्रममा प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष इशुभ पाण्डे, प्रदेश सचिव गौरीमान फागो, प्रदेश सदस्य ध्रुव गौतम, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ, प्राज्ञिक सल्लाहकार जनार्दन ढकाल, पूर्व प्रदेश सदस्य अजय आले मगरलगायतको उपस्थिति थियो। त्यस्तै एन प्याब्सन झापाका अध्यक्ष प्रेम लिम्बू, इष्टु झापाका अध्यक्ष होमराज खतिवडा, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली तथा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाललगायत सहभागी थिए।

प्याब्सन झापाले शैक्षिक सत्र २०८३ का लागि २०८२ मै शैक्षिक क्यालेन्डर प्रकाशन गरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही क्यालेन्डरअनुसार भदौ १३ गतेदेखि पालिका स्तरबाट सुरु भएको अतिरिक्त क्रियाकलाप जिल्ला स्तरीय प्रतियोगितासँगै समापन गरिएको प्याब्सन झापाले जनाएको छ। जिल्लाभर ११ वटा विधामा सञ्चालन गरिएको प्रतियोगितामा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। जिल्ला स्तरीय प्रतियोगिताअन्तर्गत कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ तथा कक्षा ९ र १० का विद्यार्थीका लागि नेपाली र अंग्रेजी भाषामा आकस्मिक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार आकस्मिक वक्तृत्वकलाका सहभागीलाई विषय छनोटका लागि पाँच मिनेटको समय दिइएको थियो। विषय छनोट गरेको पाँच मिनेटपछि विद्यार्थीलाई तत्काल वक्तृत्वकलामा सहभागी गराइएको थियो। यसबाट विद्यार्थीको उत्साह तथा प्रस्तुतीकरण क्षमता परीक्षण गर्न सहयोग पुगेको उनले बताए।

यस वर्ष हाजिरीजवाफ प्रतियोगिताको मोडालिटीसमेत परिवर्तन गरी डिजिटल प्रविधिको प्रयोग गरिएको थियो। प्रतियोगितामा १५ विद्यालयका ३० विद्यार्थी सहभागी थिए। पहिलो चरणमा ३० वटा बहुवैकल्पिक प्रश्न सोधिएको थियो भने त्यसबाट सात विद्यालय फाइनल चरणका लागि छनोट भएका थिए। फाइनलमा चारवटा राउन्ड सञ्चालन गरिएको थियो। जिल्ला स्तरीय नेपाली आकस्मिक वक्तृत्वकलामा १५ विद्यालयका १५ विद्यार्थी तथा अंग्रेजी आकस्मिक वक्तृत्वकलामा १४ पालिकाका १४ विद्यार्थी सहभागी थिए। हाजिरीजवाफ र दुवै भाषाका वक्तृत्वकलामा गरी जिल्ला स्तरीय प्रतियोगितामा ५९ विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। हाजिरीजवाफ प्रतियोगितामा एरा एभरग्रिन अंग्रेजी माध्यमिक विद्यालय, बुद्धशान्तिका सौगात कार्की र युसु नेपाल प्रथम भए। गोलधाप सनसाइन अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारीका भूमिका दाहाल र प्रविन किस्कु द्वितीय तथा सेन्ट पल्स एकाडेमी, मेचीनगरका नम्रता आले मगर र क्रिस्टिना आचार्य तृतीय भए।

नेपाली आकस्मिक वक्तृत्वकलामा गोलधाप सनसाइन अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारीकी दिया पौडेल प्रथम, चन्द्रज्योति अंग्रेजी माध्यमिक विद्यालयका निरज पाठक द्वितीय र नमुना अंग्रेजी माध्यमिक विद्यालय, गौरादहकी अर्पणा सिटौला तृतीय भए। अंग्रेजी आकस्मिक वक्तृत्वकलामा सेभेन सिज अंग्रेजी माध्यमिक विद्यालय, शिवसताक्षीकी आस्था लिम्ब प्रथम, जयपुर अंग्रेजी माध्यमिक विद्यालय, बुद्धशान्तिका प्रज्ञान रिजाल द्वितीय तथा जसोदा अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारीकी श्रेयासा श्रेष्ठ तृतीय भए। सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विधागत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायकमा अंग्रेजी विषयतर्फ टीका सुवेदी र गायत्री न्यौपाने तथा नेपाली विषयतर्फ सूर्यप्रसाद अधिकारी र खगेन्द्र न्यौपाने रहेका थिए। प्याब्सन झापाले अतिरिक्त क्रियाकलापलाई शैक्षिक सिकाइको अभिन्न पक्षका रूपमा अघि बढाउँदै विद्यार्थीको ज्ञान, सिर्जनशीलता, प्रस्तुतीकरण क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।