इटहरी स् सीमावर्ती जिल्ला झापा पछिल्ला दिनमा लागूऔषध ओसारपसारको दबाबमा परेको छ। भारतबाट नेपाल भित्र्याइने ब्राउन सुगरको कारोबार नियन्त्रण गर्न प्रहरी र सशस्त्र प्रहरीको निगरानी बढिरहे पनि पक्राउ पर्ने क्रम रोकिएको छैन। पछिल्ला तीन दिनमा मात्रै झापाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाका युवादेखि भारतीय नागरिकसम्म छन्। कसैले शरीरमा लुकाएर, कसैले साइकलको सिटमुनि त कसैले पैदल सीमापार गर्दै लागूऔषध भित्र्याउने प्रयास गरेका छन्। यसले लागूऔषधको सञ्जाल कति गहिरोसम्म फैलिएको छ भन्ने संकेत गरेको प्रहरीको बुझाइ छ। पछिल्लो घटनामा अर्जुनधारा नगरपालिका–११ देउनिया टोलका २१ वर्षीय गोविन्द श्रेष्ठ र ३० वर्षीय कृष्णबहादुर प्रधान मेचीनगर–६ स्थित दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ परे। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट लागूऔषध खरिद गरी ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्लास्टिकसहित ११ ग्राम ६५० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।
त्यसअघि दमक नगरपालिका–२ बाट दुई भारतीय नागरिक पक्राउ परेका थिए। भारत बिहारको अररिया जिल्लास्थित बौकामजरफका १९ वर्षीय मोहम्मद फिरोज र २५ वर्षीय चन्द्रकुमार मण्डललाई ४१ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। झापामा लागूऔषध भित्र्याउने क्रममा अपनाइने शैली पनि प्रहरीका लागि चुनौती बन्दै गएको छ। कनकाई नगरपालिका–५ तल्लो चप्रामारीमा चेकजाँचका क्रममा कनकाई–४ मनकामना टोलका ३२ वर्षीय रोशन चौधरीले प्रयोग गरेको लेडिज साइकलको सिटमुनिको पाइपभित्र लुकाइएको अवस्थामा १४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। त्यस्तै, भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड–९ लखीबारीका १९ वर्षीय जनक माझी १६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनको साथबाट नेपाली रुपैयाँ ७१० र नागरिकता प्रमाणपत्रसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवालेका अनुसार पछिल्ला दिनमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रदेखि जिल्लाका विभिन्न स्थानसम्म निगरानी र चेकजाँच बढाइएको छ। भारतबाट लागूऔषध ल्याउने तथा जिल्लाभित्र त्यसको कारोबार गर्ने समूह पहिचान गरी कारबाही अघि बढाइएको उनले बताए। झापामा पक्राउ पर्ने क्रम बढ्नुको एउटा प्रमुख कारण खुला सीमा र सीमापारिको सहज पहुँच रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ। भारतका सीमावर्ती बजारबाट लागूऔषध खरिद गरेर झापाका विभिन्न बजार हुँदै अन्य जिल्लासम्म पुर्याउने प्रयाससमेत हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ। झापा हुँदै लागूऔषध अन्यत्र लैजाने सञ्जालको अर्को पाटो भने झन् गम्भीर देखिन्छ। नेपालमा लागूऔषध आपूर्ति गर्ने तयारीमा रहेका दुई भारतीय नागरिकलाई सीमापारि भारतको किशनगञ्ज प्रहरीले ३०८ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको घटनाले पनि झापा आसपासको सीमा क्षेत्रबाट हुने कारोबारको आकारतर्फ संकेत गर्छ।
किशनगञ्ज प्रहरी र सीमा सुरक्षा बलको संयुक्त टोलीले चेकजाँचका क्रममा मोटरसाइकलमा आएका मोहम्मद मोहसिन र समशेर अलीलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट बरामद ब्राउन सुगरको भारतीय प्रहरीले करिब ६० लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय बजार मूल्य रहेको अनुमान गरेको छ। घटनामा प्रयोग भएको मोटरसाइकल र भारतीय रुपैयाँसमेत बरामद गरिएको थियो। भारतीय प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्दै बरामद लागूऔषधको ‘ब्याकवार्ड’ र ‘फर्वार्ड’ सम्बन्ध खोजिरहेको जनाएको छ। यसको अर्थ लागूऔषध कहाँबाट आयो र कहाँ पुर्याउने तयारी थियो भन्ने सञ्जाल पत्ता लगाउने प्रयास भइरहेको छ।
नेपालतर्फ भने पक्राउ परेका कारोबारीमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई निरन्तर दबाब छ। पक्राउ संख्या बढेसँगै प्रहरी हिरासत र कारागारमा समेत लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्तको चाप थपिँदै गएको छ। नियन्त्रण अभियान तीव्र भए पनि कारोबारको जालो भत्काउन भने मुख्य आपूर्तिकर्ता र सञ्जालसम्म पुग्नुपर्ने चुनौती प्रहरीसामु छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवालेका अनुसार लागूऔषधको कारोबारमा संलग्न व्यक्तिमाथि अनुसन्धानलाई पक्राउमै सीमित नराखी उनीहरूको सञ्जाल, आपूर्तिको स्रोत र सम्पर्कसम्म पुर्याउने प्रयास भइरहेको छ। खुला सीमाका कारण लागूऔषध नियन्त्रणमा चुनौती रहे पनि सुरक्षा निकायबीचको समन्वय र नियमित निगरानीलाई प्रभावकारी बनाइएको उनले बताए।
पछिल्ला तीन दिनका घटनाले झापामा लागूऔषधको समस्या केवल सीमामा हुने ओसारपसारमा सीमित नरहेको देखाएको छ। भारतीय नागरिकदेखि स्थानीय युवासम्मको संलग्नता देखिनु र लागूऔषध लुकाउन नयाँ–नयाँ उपाय अपनाइनुले यसको कारोबार संगठित बन्दै गएको संकेत गर्छ। प्रहरीका लागि अहिले चुनौती पक्राउको संख्या बढाउनु मात्र होइन, पक्राउ परेकाबाट सूचना निकालेर त्यसको जरोसम्म पुग्नु हो। नत्र सीमा क्षेत्रमा दैनिक हुने केही पक्राउले कारोबारीको एउटा तह मात्र रोक्नेछ, तर झापालाई लागूऔषधको ट्रान्जिट बनाउने सञ्जाल भने यथावत् रहने जोखिम छ।


