धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आज सोमवार सम्पन्न निर्वाचनमा कुल २ हजार ३४० मत खसेको छ । कुल २ हजार ९०७ मतदाता मध्ये यसपालीको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । मतगणना भोली मङ्गलवार बिहान देखी हुनेछ ।

प्रारम्भिक चरणमा राजनीतिक दलहरू तटस्थ रहेको देखिएको थियो। तर अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ एमाले निकट भएतापनि अर्का उम्मेदवार शिवराज श्रेष्ठ एमाले पार्टी धरान नगर सचिवालय सदस्य भएकाले उनैलाई आधिकारिक उम्मेदवारको मान्यता दिएर एमाले पार्टी चुनावमा होमिएको देखियो ।

एमाले निकट सङ्घका पूर्व अध्यक्षहरू, अग्रज व्यवसायीहरू गोपाल श्रेष्ठको पक्षमा पहिले देखी नै लागेका थिए । चुनावको अघिल्लो दिन सम्म आउँदा एमाले पार्टी लाइन खुलेरै शिवराज श्रेष्ठको पक्षमा लागेपछि नेपाली काँग्रेसले गोपाल श्रेष्ठको पक्षमा देखियो । गोपालको पक्षमा माओवादी पनि देखिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घको यसपालिको चुनावी नतिजा एमालेको लागि ‘दुवै हातमा लड्डु’ हुँदा हुँदै पार्टी एक पक्षीय बनेपछि प्रतिष्ठाको विषय भएको छ । भोली मङ्गलवार हुने चुनावी परिणाम एमालेको लागि प्रतिष्ठाको चिट्ठा बन्ने भएको हो ।

गोपाल श्रेष्ठको समर्थन गरेका एमाले निकटकै व्यवसायीलाई ‘सिण्डिकेट’ आरोप लगाएको पूर्व अध्यक्ष सरोज श्रेष्ठले अग्रजहरूको अपमान हुने कार्य भएको भनी कडा जवाफ पत्रकार सम्मेलनमा दिएका थिए । यसपालिको चुनावले एकथरी व्यवसायीहरू सङ्घलाई पार्टीको हस्तक्षेपबाट मुक्त राख्ने देखिएका छन् भने एमाले पार्टीकै उम्मेदवार हुनुपर्ने पक्षमा रहेको देखिएको छ ।

व्यवसायी मतदाता कुन पक्षमा रहेछन् भन्ने कुरा भोली देखिने मतगणनाको नतिजाले देखाउने छ । खसेको कुल २ हजार ३४० मत मध्ये वाणिज्य तर्फ १३ सय ९९, उद्योग तर्फ ७ सय ८७ मत, एशोसिएट तर्फ १ सय ३३ र बस्तुगत तर्फ २१ मत रहेको बताइएको छ ।