इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ तुलनामा आर्थिक वर्ष २०८१र०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१र०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार गत आव २०८१र०८२ मा क्षेत्रिय किताब उतारमार्फत चार हजार ९८० रुपियाँ, नक्सा बिक्रीमार्फत पाँच लाख ७३ हजार ६१०, फिल्ड रेखाङ्कनबाट २२ लाख ६५ हजार ६२५ र कित्ता एकीकरणबाट दुई हजार ६ सय रुपियाँ राजस्व रेखाङ्कनबाट सङ्कलन गरिएको छ । कार्यालयले स्थानीय तहसँगको फिल्ड रेखाङ्कनमा राजस्व अनिवार्य गरेकाले झण्डै दोब्बरले वृद्धि भएको नापी अधिकृत श्रेष्ठले बताउनुभयो ।कार्यालयका अनुसार अघिल्लो आव २०८०र०८१ मा क्षेत्रिय किताब उतारमार्फत दस हजार सात सय रुपियाँ, नक्सा बिक्रीमार्फत चार लाख आठ हजार ९३०, फिल्ड रेखाङकनबाट ११ लाख ६१ हजार ८५४ र कित्ता एकीकरणबाट ७३ हजार तीन सय ५३ रुपियाँ राजस्व सङ्कलन गरिएको थियो । गत आर्थिक वर्षमा १३४ ओटा क्षेत्रीय किताब उतार, पाँच हजार १६० ओटा नक्सा बिक्री, दुई सय वटा फिल्ड रेखाङ्कन र ३६ वटा कित्ता एकीकरण गरेको कार्यालयले जनाएको छ ।

चार सय ५१ वटा कित्ताकाट कार्य समेत भएको जनाइएको छ । जसमध्ये राजिनामाको दुई सय २३ ओटा, अंशबण्डाको एक सय नौ वटा, अदालतको ५२ र बकसपत्रको ६७ वटा  कार्य भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा भने क्षेत्रीय किताब उतारका एक सय २८, नक्सा बिक्री तीन हजार पाँच सय ९६, फिल्ड रेखाङ्कनमा एक सय १२ र कित्ता एकीकरणको २० ओटा मात्र कार्य सम्पन्न भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।