इटहरी । झापा जिल्लामा आर्थिक वर्ष २०८१र८२ (असार–साउन) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। यो कारबाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन (मापसे) मा ३१७४ जना कारबाहीमा परे, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
जिल्लाभर ट्राफिक सचेतना कार्यक्रममा विद्यालय तहका ८४६१ विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी कक्षा दिइएको छ भने १२५० जनालाई मापसे सचेतना प्रशिक्षण दिइएको पौडेलले बताए। ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन ट्राफिक भ्वाइलेसन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उनले जानकारी दिए। गत आर्थिक वर्ष २०८१र८२ मा कार्यालयले सवारी नियमनका लागि ७० रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोग गरेको छ।
ट्राफिक सुधार अभियानमा स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रको सहकार्य गरिएको पौडेलले बताए। कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटोरसिटी चालक र समाजका अन्य पक्षलाई लक्षित कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उनको भनाइ छ।
