इटहरी । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् ।
यस्तै, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौं, सहारा क्लब पोखरा, आयोजक तेल्लोक स्पोर्टिङ क्लब र नेपाल बाहिरको लेजण्ड फुटबल एकेडेमी सिलिगुढी भारत सहभागी हुने भएका छन् । यस वर्ष गोल्डकप विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार राशि पाउने शेर्पाले बताउनुभयो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
यता प्रतियोगितामा खेल हेर्न दर्शकका लागि प्रवेश शुल्क (टिकट दर) पनि निर्धारण गरिएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको क्वार्टर फाइनल चरणका लागि टिकद दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० रुपियाँ र फाइनल खेल हेर्न टिकट दर २५० रुपियाँ निर्धारण गरिएको छ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
