इटहरी । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लोको उहाँको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले  बारीबाट किनेर लैजाने गरेको सुनाउनुभयो । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसाियक खेती भइरहेको छ ।

गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताउनुभयो । समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उहाँले बताउनुभयो । पौवादुङमाका एक किसानले न्यूनमत रु एक लाख ५० हजारदेखि रु सात लाखसम्म खुर्सानीखेतीबाट भित्र्याउने गरेको पौवादुङमा—४ बास्तिमका ध्रुव राईले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा छ सय हेक्टर क्षेत्रमा लगाइएको करिब रु २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती भइरहेको बताउनुभयो । यहाँका पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, विर्तामोड, काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।