इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ ।

अघिल्लो आव २०८०र८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१र८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।