इटहरी । निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् । प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् । १० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । अलैँचीलाई कम लागतमा बढी मूल्य लिन सक्ने नगदेबालीका रूपमा लिन सकिने सन्दकपुर गाउँपालिका–२ का किसान गिरिराज खनाल बताउनुहुन्छ ।
४५ रोपनी जमिनमा अलैँची लगाएका खनालले यस वर्ष गत वर्षभन्दा दोब्बर आम्दानी भएको बताउनुभयो । १० वर्ष वैदेशिक रोजगारी गरेर घर फर्किएपछि अलैँची खेती सुरु गरेका खनालले युवालाई स्वदेशमै स्वरोजगार गराउन अलैँची खेती एउटा माध्यम बन्न सक्ने सम्भावना रहेको बताउनुभयो । त्यसो त खनाल इलामका अलैँची किसानमध्ये एक उदाहरण मात्रै हो । नेपाली किसानले देशका ५४ जिल्लामा अलैँची खेती गर्दै आएका छन् । देशको १४ हजार ३८३।५ हेक्टर जमिनमा अलैँची खेती विस्तार रहेको अलैँची विकास केन्द्रले जनाएको छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशी प्रदेशका पहाडी जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्र प्रमुख राजन परियार बताउनुहुन्छ ।
अलैँची खेती गर्ने किसानको यकिन सङ्ख्या भने नभएको परियारले बताउनुभयो । गत वर्ष निकासी भएको अलैँचीको हिस्सा पनि निर्यात वस्तुमध्ये राम्रो रहेको छ । मेची भन्सार कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा सात अर्ब ६७ करोड ४० लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । गत वर्ष ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।


