इटहरी । ओठमाथि जुँघाको रेखी बस्दै गर्दा १९ वर्षको उमेरमा खोटाङको दिक्तेलबाट वैदेशिक रोजगारीमा दुबई गएका रामकुमार दाहाल यतिबेला केराको दाम्चाबाट रेसा निकालेर नेपालमै खाडीको कमाई खोजिरहनुभएको छ । वैदेशिक रोजगारीमा १५ वर्षको अनुभव बटुल्नुभएका दाहाल अहिले ३५ वर्षको हुनुभयो । गत वर्षको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नुभएको छ । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिसबिघेमा घरखेत जोड्नुभएका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा  (धागो) निकालेर बिक्री गरिरहनुभएको छ । त्यसका लागि उहाँले अढाई लाख रुपियाँ खर्चेर रेसा निकाल्ने मेसिन खरिद गर्नुभयो ।

गाउँमा केराको व्यावसायिक खेती हुने गरेको छ । वरिपरि सय बिघाभन्दा बढी जग्गामा केरा खेती हुने गरेकाले उहाँलाई कच्चा पदार्थको अभाव कहिल्यै भएको छैन । सुरुका दिनमा निःशुल्क पाइने केराको थाम पनि अहिले बिघाको सात हजार रुपियाँका दरले किन्नुपर्ने भएको छ । गत माघदेखि हालसम्म सात सय किलो रेसा बिक्री गरिसकेको दाहालले जानकारी दिनुभयो । अरू तयारी हुँदै छ । सुरुका दिनमा दुई जना कामदार राखेर रेसा निकालेका दाहालले मौसम प्रतिकूल भएपछि परिवारका सदस्यले मात्र काम गरिरहेको बताउनुभयो ।