इटहरी । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो । उहाँले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताउनुभयो ।
हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ । खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छभने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उहाँले जानकारी दिनुभयो । धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ ।
उहाँले सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाउनुभयो । नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिनुभएको र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पु¥याइरहेको बताउनुहुन्छ ।


