इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ । काठमाडौँमा बस्दै आएका पाँच हजार ३३५ नगरवासीले शिविरबाट सेवा लिएका छन् १३ लाख ४५ हजार ५६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभिन्न कामको व्यस्तता तथा बर्खायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई सहज सेवा दिने अभिप्रायले काठमाडौँमा शिविर आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

नागरिकहरुको समस्यालाई ख्याल गर्दै सरकारनै काठमाडौँ पुगेर सेवा दिएको उहाँले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिका स्थायी ठेगाना भई काठमाडौँमा अस्थायी रुपमा बसोबास गरिरहेको करिब २० प्रतिशत जनसङ्ख्यालाई नगरपालिकाले काठमाडौँमै गएर सेवा दिएको जनाएको छ । आइतबारबाट सुरु गरिएको सेवा शिविर सुरुमा तीन दिनको राखिएकोमा सेवाग्राही बाँकी रहेकाले एक  दिन थप गरेको थियो । शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, जग्गाको तिरोसम्बन्धी सेवा तथा पञ्जीकरणअन्तर्गत जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणीकरण, बसाइँ सराइलगायतका सेवा प्रवाह गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा सात सय नागरिकले सेवा लिने आँकलन गरिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण गर्नुपर्ने वृद्धवृद्धाहरुलाई फाइदा पुगेको छ । यस वर्षबाट बायोमेट्रीक फिंगरिङ अनिवार्य गरिएसँगै वृद्धहरु समस्यामा परेका थिए । बसोबास स्थलमै आएर नगरपालिकाले सेवा प्रवाह गर्दा जिल्ला पुग्नुपर्ने झन्झटबाट मुक्ति मात्रै नभएर आफूहरुको समय र खर्च समेत बचत भएको सेवाग्राहीहरुले बताए । नागरिकप्रति स्थानीय सरकारको दायित्व वहन गर्ने कार्यमा एक सशक्त र महत्त्वपूर्ण कदम उठाएको महसुस गरेको र यति ठुलो सङ्ख्यामा नागरिकहरुलाई सेवा प्रदान गर्न सक्नु अत्यन्तै हर्षको विषय भएको मेयर शेर्पाको भनाइ छ ।

यस अभियानमा दिनरात खटेर सेवा प्रवाहमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नगर पालिकाको सम्पूर्ण टीमसहित कर्मचारी र स्वंसेवकहरुप्रति नगरप्रमुख शेर्पाले धन्यवाद दिनुभएको छ ।