इटहरी । पथरी ११ फुटबल क्लबले आज एक औपचारिक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको वार्षिक आर्थिक विवरण सार्वजनिक गर्नुका साथै दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ को औपचारिक घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै  क्लबको पथरी स्थित शिखर चोकको प्रधान कार्यालयमा सोको  जानकारी दिईएको हो । कार्यक्रमको सुरुवातमा क्लबका सदस्य तथा कोच अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्त्वबारे जानकारी गराउनुभएको थियो ।  सोही क्रममा  क्लबका अध्यक्ष सुमन बिकले पत्रकार सम्मेलनमा क्लबको कुल आम्दानी  १७ लाख ८५ हजार ८ सय ४० र कुल खर्च  १४ लाख ८१ हजार १ सय ५५ भएको जानकारी दिँदै क्लबको वित्तीय स्थिति पारदर्शी रूपमा प्रस्तुत गर्नुभएको थियो । साथै, दोस्रो पथरी शनिश्चरे गोल्डकप यही कात्तिक १५ गते शनिबारदेखि सुरु भई कात्तिक २२ गतेसम्म सञ्चालन हुने जानकारी समेत गराउनु भयो। गोल्डकपमा प्रथम पुरस्कार नगद  ५ लाख, दोस्रो पुरस्कार नगद  २ लाख ५० हजार, साथै विजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत ट्रफी तथा मेडल, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ दि म्याच“ पुरस्कार प्रदान गरिनेछ । उक्त गोल्डकप प्रतियोगिताको आय–व्यय अनुमानित ६० लाख रुपैयाँ रहेको छ । जसका लागि क्लबले पथरी शनिश्चरे नगरपालिकासँग १५ लाख सहयोगको अपेक्षा राखेको छ भने मुख्य प्रायोजक, सहप्रायोजक ,प्रायोजक, निजी विद्यालय, व्यापारी र शुभेच्छुकहरूबाट रु ४५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।