इटहरी। रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो । कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ । सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । पहिलाभन्दा सुनसरीमा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको बताइएको छ ।

कोशी प्रदेशमै कोदो खेतीको क्षेत्रफल घट्दै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका वरिष्ठ वागवानी विकास अधिकृत टोनी बर्देवाले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा गएको आर्थिक वर्ष २०८०र०८१ मा ५७ हजार ३५७ दशमलव ०३ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०८१र०८२ मा ५७ हजार २७४ दशमलव ०३ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । क्षेत्रफल घटेसँगै कोदो उत्पादनमा समेत कमी आएको अधिकृत बर्देवाले बताउनुभयो । आर्थिक वर्ष २०८०र०८१ मा ८७ हजार ३४३ दशमलव ६० मेक्ट्रिक टन र उत्पादनकत्व १ दशमलव ५२ मेक्ट्रिक टन प्रतिहेक्टर उत्पादन हुँदै आएको प्रदेशमा आर्थिक वर्ष २०८१र०८२ मा ८५ हजार ९७२ दशमलव ४८ मेक्ट्रिक टन उत्पादन भएको छ भने उत्पादकत्व घटेर १ दशमलव ५ प्रतिहेक्टर मेक्ट्रिक टन रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेशमै धेरै कोदो खेती उत्पादन हुने क्षेत्रमा खोटाङगमा गत आर्थिक वर्षमा १३ हजार ३३२ हेक्टर क्षेत्रफलमा कोदो खेती भएकोमा उत्पादन २१ हजार ९९७ मेक्ट्रिक टन उत्पादन भएको थियो । कोशी प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङकअनुसार ओखलढुङगामा ७ हजार ७५१ हेक्टर क्षेत्रफलमा खेती लगाएइकोमा १३ हजार १७८ मेक्ट्रिक टन उत्पादन भएको छ । कोदो हुने क्षेत्रमा ताप्लेजुङ, इलाम पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, मोरङमा खेती हुने गरेको छ । कृषकहरुले काभ्रे कोदो १, डल्ले, नङ्कटुवा जातका स्थानीय कोदो लगाउदै आएका छन् । कोदो उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्न कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालयले उन्नत प्रविधि प्रदर्शन लगायतका कार्यहरु गरेपनि कोदोको उत्पादन भने बढ्न सकेको छैन । कोदोबाट बन्ने परिकारका ब्राण्डिङ गरे किसानको आकर्षण कोदो खेतीतर्फ बढ्ने भोजपुरका कृषक भानुभक्त कोइरालाको भनाई छ । खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले कोदो खेतीलाई बढाउन ब्राण्डिङ गर्नुपर्ने उहाँले बताउनुभयो । कुनै बेला खाद्यान्नको प्रमुख बालीमा पर्ने कोदो हाल कोशी प्रदेशमै कम उत्पादन हुने बालीमा पर्ने गरेको छ । कोदोको परिकारको माग पछिल्लो समय बढ्दै गएपनि कोदो खेती नहुँदा मागअनुसारको उत्पादन हुन सकेको छैन । रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि पनि कार्यक्रमहरू राखेर किसान लार्ई थप आकर्षण गर्नु पर्ने किसानहरु बताउछन् । झुपडीदेखि नाम चलेका होटलसम्म रैथाने बालीको परिकार खाने पारखीहरू भए पनि उन्नत जातको बिउँ विजनसँगै रैथाने बाली लोप हुँदै गएका छन् । नेपालमा पछिल्लो समय विभिन्न नयाँ बालीहरूको जातको विकास र विस्तारले कोदो खेतीको व्यावसायिकरणभन्दा आयातित बालीको खेतीमा जोड दिएसँगै कोदो बाली किसानहरु बाट टाढा हुँदै गएको छ ।